
अमेरिकाको लस एन्जलस र आसपासका काउन्टीमा कम्तीमा पाँच वटा डढेलो लागेको छ ।
हलिउड हिल्समा बुधबार लागेको आगो विश्वप्रसिद्ध हलिउड चिन्ह नजिक आइरहेको छ भने शहरको सनसेट बुलेवार्डका भवनहरू भग्नावशेषमा परिणत भएका छन्।
हलिउड हिल्सको डढेलो तीव्र गतिमा फैलिरहेको अग्नि नियन्त्रक प्रमुखले बताएका छन् ।
आगोलागी नियन्त्रण बाहिर रहेको बीबीसीले उल्लेख गरेको छ । फिल्मी कलाकारको महलले भरिएको यो सहर र आसपासमा लागेको ६ वटा छुट्टा छुट्टै डढेलोका कारण एक हजारभन्दा बढी संरचना जलेर नष्ट भएका छन् । सबैभन्दा खराब विनाश प्रशान्त पालिसाडेसको सुन्दर एन्क्लेभमा भएको छ ।
अमेरिकाको इतिहासकै सबैभन्दा विनाशकारी डढेलोका कारण पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने १ लाख ३७ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।आगोले शहरमा डरलाग्दो चमक देखिएको समाचारमा उल्लेख छ ।
पेरिस हिल्टन हलिउडका स्टारहरू मध्ये एक हुन् जसले यो आगोलागीबाट आफ्नो घर गुमाएका छन्। मालिवुमा रहेको आफ्नो घर जलिरहेको टेलिभिजनमा प्रत्यक्ष हेरिरहेको ईन्स्टाग्राममा शेयर गरेकी छिन् ।
निक्सन र क्यासिनो जस्ता फिल्ममा अभिनय गरेका अभिनेता जेम्स वुड्स एक टेलिभजनमा बोल्दै आफ्नो प्यासिफिक पालिसेडको सम्पत्ति गुमाएको बताएका छन् । अघिल्लो दिन पूलमा पौडी खेल्दै गरेको र अर्को दिन यो सबै हराएको भन्दै उनि रोए पनि ।
अभिनेता बिली क्रिस्टलले एक विज्ञप्ति जारी गर्दै आफू र उनकी पत्नी जेनिसले सन् १९७९ देखि बस्दै आएको प्यासिफिक पालिसेड्सस्थित आफ्नो घर गुमाउँदा मर्माहत भएको बताएका छन् । 'ह्वेन ह्यारी मेट स्याली'का स्टारले भनेका छन् हामीले आफ्ना छोराछोरी र नातिनातिनालाई यहीँ हुर्कायौं, हाम्रो घरको हरेक इन्च प्रेमले भरिएको थियो तर ती सबै सुन्दर सम्झनाहरूमा मात्रै रहने भयो । हामी पक्कै पनि हृदयविदारक छौं तर हाम्रा बच्चाहरू र साथीहरूको प्रेमको साथ हामी यो पार गर्नेछौं उनले भने ।
जेनिफर एनिस्टन,ब्राडली कूपर,टम ह्याङ्क्स,रीज विदरस्पून,एडम स्यान्डलर र माइकल कीटनको पनि प्यासिफिक पालिसेड्समा घर रहेको बताइएको छ।
टप गन: म्यवरिकमा अभिनय गरेका माइल्स टेलर र उनकी पत्नी स्पेरीले प्यासिफिक पालिसेड्समा पनि आफ्नो घर गुमाएका छन् ।
आगोलागीका कारण घरबाट भाग्न बाध्य भएका अन्य स्टारहरूमा स्टार वार्सका अभिनेता मार्क ह्यामिल र शिट्स क्रीकका अभिनेता यूजीन लेभी पनि रहेका छन् । हामिलले इन्स्टाग्राममा एक पोस्ट लेख्दै सन् १९९३ मा मालिबुमा १८ हजार एकड जमिन जलेर नष्ट भएपछिको यो सबैभन्दा डरलाग्दो आगलागी भएको बताएकी छन् ।
कमेडियन अभिनेता लेभीले स्थानीय मिडियालाई टेमेस्कल क्यान्यनमा कालो र तीव्र धुवाँ आएको बताएका छन् । अभिनेता क्यामरुन म्याथिसनले पनि आफ्नो घर भग्नावशेषमा परिणत भएको एक क्लिप शेयर गरेका छन् ।