काठमाडौं, चैत ११ :

सक्रिय न्युजको ‘सक्रिय हाइलाइट्स’मा आज नेकपा एमालेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको विवादस्पद अभिव्यक्तिको बचाउ गरेको, दाङको घोराही उपमहानगरपालिका ९, खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा भएको आगलागीबाट करोडौंको क्षति भएको लगायतका समाचार समावेश गरेका छौं ।

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरणका लागि प्रभावकारी ढंगले काम गर्नुपर्ने तयारी गरेको समाचारहरु पनि समावेश गरेका छौं । साथै आजको सक्रिय हाइलाइट्समा कैलालीको घोडाघोडी नगरपालिका ९ मा रहेको सिमली जंगलमा गैरकानुनी रूपमा बस्दै आएका विदेशीहरुले प्रशासनको निर्देशनको अवज्ञा गर्दै बसिरहेको समाचारका साथै सेयर बजारमा सु्धारको संकेत देखापरेको समाचारलाई मुख्य प्राथमिकताका साथ समावेश गरेका छौं ।

प्रस्तुत छ- सक्रिय न्युजको आजको हाइलाइट्स :

अध्यक्षको बचाउ
नेकपा एमालेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको विवादस्पद अभिव्यक्तिको बचाउ गरेको छ । महासचिव शंकर पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै गत चैत ४ गते बसेको सचिवालय बैठकसँग सम्बन्धित आइतबार प्रकाशित समाचारको खण्डन गर्दै अध्यक्षको बचाउ गरेका हुन् । बैठकमा ओलीले आफूलाई हटाउन भारतीय पक्ष लागिपरेको भन्दै उसलाई पनि ‘देखाइदिने’ अभिव्यक्ति दिएका थिए ।

क्षयरोग न्यूनीकरणको प्रयास
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरणका लागि प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताएका छन् । भक्तपुरमा सोमबार आयोजित कार्यक्रममा उनले यसको न्यूनीकरणका लागि सरकारले आफ्ना अहिलेसम्मका प्राथमिकताहरु बदलेर नयाँ र प्रभावकारी ढङ्गले अघि बढ्नुपर्ने बताएका हुन् । उनले क्षयरोग केन्द्रमा पनि सम्पूर्ण सेवाहरु उपलब्ध हुने अस्पताल सञ्चालन गर्न जरुरी रहेको बताए । साथै उनले  त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने प्रतिबद्धतासमेत जनाए  ।

खरानी बन्यो प्लाई उद्योग
दाङको घोराही उपमहानगरपालिका ९, खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । दाङको घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रुपन्देहीबाट दमकल मगाएर आगो नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए ।  आगलागीबाट भएको क्षतिको यकिन विवरण प्राप्त नभए पनि करोडौं नोक्सानी भएको प्रहरीले प्रारम्भिक अनुमान रहेको जनाएको छ ।

अटेरी विदेशी
कैलालीको घोडाघोडी नगरपालिका ९ स्थित सिमली जंगलमा गैरकानुनी रूपमा बस्दै आएका विदेशी नागरिकले प्रशासनको निर्देशनको अवज्ञा गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार २४ घण्टाभित्रै जंगल छोड्न निर्देशन दिएपछि १३५ जनामध्ये ४५ जनाले मात्र जंगल छाडेका छन् । बाँकी ९० विदेशी भने अटेर गरी जंगलमै अर्धनग्न अवस्थामा अस्वाभाविक गतिविधि गर्दै बसिरहेको प्रहरी निरीक्षक दीर्घ साउदले जानकारी दिए । ‘रेन्बो फेमिली ग्यादरिङ’ नामक समूहका विदेशी नागरिक विभिन्न देशबाट आएका छन् ।

हरियाली सेयर बजार
सेयर बजारमा सु्धारको संकेत देखापरेको छ । सोमबार नेप्से २६.१० विन्दुले बढेर २,६४०.७८ अंकमा रोकिएको छ । जसमा कारोबार रकम ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार रुपैयाँ नाघेको छ । सोमबार नेप्सेका सबै समूहका सूचक बढेका छन् । गत सातादेखि निरन्तर ओरालो लागिरहेको पुँजीबजार आज थामिएर हरियाली छाएको हो ।