शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार विचार

कोजाग्रत पूर्णिमा : ‘को जागेको छ?’ भन्दै देवी महालक्ष्मीले पृथ्वी चहार्दाको रोचक कथन

देवी महालक्ष्मीको पूजा–आराधना गर्ने र रातभर जाग्राम बस्ने परम्परा छ।
सुरेन्द्र पौड्याल सुरेन्द्र पौड्याल · १ घण्टा अगाडि प्रकाशित
कोजाग्रत पूर्णिमा : ‘को जागेको छ?’ भन्दै देवी महालक्ष्मीले पृथ्वी चहार्दाको रोचक कथन
काठमाडौं, कात्तिक ७ :

कोजाग्रत पूर्णिमासँगै नेपालीहरूको महान् पर्व बडादशैँ औपचारिक रूपमा सम्पन्न हुन्छ । यस दिन दुर्गा अनुष्ठानसँग सम्बन्धित सम्पूर्ण धार्मिक कार्य सम्पन्न गरी पूजा–विसर्जन गरिन्छ। साथै दशैँघरमा राखिएका पूजाका सामग्री तथा अन्य अवशेषहरू विधिपूर्वक विसर्जन गरिन्छ भने दशैँमा स्थापना गरिएको जमरालाई नजिकैको नदी, तलाउ वा अन्य जलाशयमा लगेर सेलाउने चलन छ।

यसरी बडादशैँका धार्मिक अनुष्ठानहरू सम्पन्न गरेपछि साँझ घरमा दीप प्रज्वलन गरी धन, धान्य, ऐश्वर्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधना गर्ने र रातभर जाग्राम बस्ने परम्परा छ।

धार्मिक जनविश्वासअनुसार कोजाग्रत पूर्णिमाको रातमा देवी महालक्ष्मीले पृथ्वीको भ्रमण गर्दै ‘को जागेको छ?’ भनी खोजी गर्ने गर्छिन्। जो व्यक्ति जाग्राम बसी श्रद्धापूर्वक महालक्ष्मीको पूजा–आराधना गरिरहेको हुन्छ, उसलाई देवीले आशीर्वाद दिई धनधान्य, सुख, शान्ति र समृद्धिले सम्पन्न गरिदिन्छिन् भन्ने विश्वास छ। यही ‘को जागेको छ?’ भन्ने मान्यतासँग जोडिएर यस पूर्णिमालाई ‘कोजाग्रत पूर्णिमा’ भनिएको हो। यस दिनलाई शरद पूर्णिमा पनि भनिन्छ।

कोजाग्रत पूर्णिमासँग सम्बन्धित एउटा रोचक धार्मिक कथन पनि प्रचलित छ। प्राचीनकालमा देवी लक्ष्मी वैकुण्ठमा बस्दाबस्दै उराठ लागेर पृथ्वीको अवस्था हेर्न आएको किंवदन्ती छ। रातको मध्य समय भइसकेको हुँदा अधिकांश मानिस घरका बत्ती निभाएर सुतिसकेका थिए। देवी लक्ष्मीले आफूलाई स्वागत गर्ने र जाग्राम बसेको घर खोज्दै पृथ्वीको भ्रमण गरिन्। यसै क्रममा उनले ‘को जाग्रत्? को जाग्रत्?’ भन्दै जागा रहेको मानिसको खोजी गर्न थालिन्।

खोज्दै जाँदा उनले एउटा गरिब किसानको घरमा बत्ती बलिरहेको र मानिसहरू जाग्राम बसिरहेको देखिन्। त्यसपछि देवी लक्ष्मी त्यही घरमा प्रवेश गरिन्। किसान दम्पतीको श्रद्धा, जागरण र भक्तिभावबाट प्रसन्न भएर देवीले उनीहरूलाई धनधान्यले परिपूर्ण गरिदिइन् भन्ने किंवदन्ती छ। त्यस रात विशाल संसारमा अन्यत्र कतै उज्यालो नदेखेकी देवीले किसानको सानो झुपडीमा मात्र उज्यालो र जागरण भेटेकी थिइन्। त्यसैले उनी त्यहीँ प्रसन्न भई बास बसेको धार्मिक कथन छ।

यही विश्वासका आधारमा कोजाग्रत पूर्णिमाको रात घरमा दीप प्रज्वलन गरी महालक्ष्मीको स्वागत गर्ने, पूजा–आराधना गर्ने र जाग्राम बस्ने परम्परा प्रचलित भएको मानिन्छ। यस रात जाग्राम बसेर देवीको आराधना गर्दा घरमा सुख, शान्ति, समृद्धि र धनधान्यको वृद्धि हुन्छ भन्ने जनविश्वास आज पनि समाजमा विद्यमान छ। रातभर जाग्राम बस्न सहज होस् भनेर विभिन्न ठाउँमा भजनकीर्तन, मनोरञ्जन तथा सामूहिक जमघट गर्ने चलन पनि छ। विशेषगरी तराईलगायतका क्षेत्रमा कौडा, तास, पासा आदि खेल खेलेर रात बिताउने परम्परा पाइन्छ।

कोजाग्रत पूर्णिमाको महत्त्व हिन्दू धार्मिक परम्परामा मात्र सीमित छैन। यस दिन विभिन्न बौद्ध समुदायका भिक्षु तथा गृहस्थहरू पनि बिहानैदेखि धूप बाल्ने, अन्नका बीउ छर्ने तथा देशभरका चैत्य र बौद्ध विहारहरूको परिक्रमा गर्ने धार्मिक गतिविधिमा सहभागी हुने परम्परा पाइन्छ। यसले नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक विविधताबीच रहेको सहअस्तित्व र परम्परागत सद्भावलाई समेत प्रतिबिम्बित गर्छ।

विशेषगरी मिथिलाञ्चललगायतका विभिन्न समुदायमा कोजाग्रत पूर्णिमाका दिन पान र मखान खाने तथा आफन्तजनबीच बाँडचुँड गर्ने चलन छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार