शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

सक्रिय न्युज · १ घण्टा अगाडि प्रकाशित
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा
काठमाडौं, कात्तिक ७ :

बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो ।

कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार मापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका एक हजार दुई जनामध्ये ५९ जना सार्वजनिक सवारीसाधनका चालक रहेका छन् । त्यस्तै, लापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ३५ जना नै सार्वजनिक सवारीसाधनका चालक रहेको उनले जानकारी दिए।

चाडपर्वका समयमा यात्रुको आवागमन बढ्ने र सार्वजनिक तथा निजी सवारीसाधनको चापसमेत वृद्धि हुने भएकाले मापसे तथा लापसे गरी सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ । यस्ता गतिविधि नियन्त्रण गर्न उपत्यकाका विभिन्न स्थानमा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई ध्यानमा राख्दै मादकपदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकविरुद्धको कारबाहीलाई निरन्तरता दिइएको बताए ।

नेपालमा मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउन कानुनले निषेध गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित कानुनी व्यवस्थाअनुसार मापसे र लापसे गरी सवारी चलाउने चालकलाई कारबाही गरिन्छ ।

ट्राफिक प्रहरीले चाडपर्वका समयमा सवारी चलाउँदा मादक पदार्थ तथा लागुपदार्थ सेवन नगर्न, ट्राफिक नियमको पालना गर्न र सुरक्षित यात्रालाई प्राथमिकता दिन सबै चालकहरूलाई आग्रह गर्दै आएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार