जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण नेपालमा मौसम बदली हुनसक्ने जनाएको छ।
आगामी तीन दिनको मौसम सामान्य नै रहने देखिएतापनि आउँदो बुधबार (कार्तिक ११) देखि आइतबार (कार्तिक १५) सम्म हिउँ र पानी पर्ने सम्भावना रहेको जनाउँदै सावधानी अपनाउन आग्रह गरिएको छ ।
विभागका अनुसार कात्तिक १० देखि १५ गतेसम्म देशका अधिकांश भूभागमा मौसमी प्रभाव पर्न सक्ने सम्भावना छ। यद्यपि, वर्षाको मात्रा र प्रभावबारे अहिले नै यकिन गर्न नसकिने विभागले स्पष्ट पारेको छ।
धान भित्र्याउने समय भएकाले किसानलाई अनुकूल मौसमको सदुपयोग गर्दै कात्तिक ७ गतेभित्रै बाली भित्र्याउन आग्रह गरिएको छ। मौसम परिवर्तनले कृषि, पर्यटन तथा खेलकुद गतिविधिमा समेत असर पार्न सक्ने भएकाले नागरिकलाई पूर्वतयारी गर्न र मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा लिन विभागले अनुरोध गरेको छ। मौसमसम्बन्धी जानकारीका लागि विभागको वेबसाइट तथा सामाजिक सञ्जाल हेर्न वा ११५५ मा फोन गर्न सकिनेछ।