शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान

आफ्ना विगतका कामहरुको इमानदारीपूर्वक समीक्षा गरी आफ्ना गल्ती र कमजोरी प्रति आत्मालोचना गर्छौैं: प्रचण्ड
सक्रिय न्युज · ५६ मिनेट अगाडि प्रकाशित
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान
काठमाडौं, कात्तिक ७ :

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय स्वाधीनता रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, पार्टी रुपान्तरण तथा समाजवाद निर्माणका आधार तयार पार्ने उद्देश्यले आजदेखि ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ ।

आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो अभियानअन्तर्गत किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवीलगायत व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिए ।

“अभियानमार्फत पार्टीका केन्द्रीय नेताको नेतृत्वमा गाउँ, वडा र तपाईंहरूकै टोलसम्म आउँदैछौँ, जनताका समस्या, गुनासा, सुझाव र आलोचना सुन्नेछौँ”, अभियान घोषणा गर्दै उनले भने, “महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुमवासी र श्रमिकका समस्या तथा वैदेशिक रोजगारीसँग सम्बन्धित कठिनाइबारे तथ्य र अनुभव सङ्कलन गर्नेछौँ ।”

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधव कुमार नेपालले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागिएको बताएका छन् ।

सहसंयोजक नेपालले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी नीति र संविधानको रक्षाका लागि जनतामाझ जान लागिएको बताए ।

उनले मुलुकको राष्ट्रियताप्रति कुनै किसिमले आघात पुर्याउने काम भए टुलुटुलु हेरेर बस्न नसक्ने स्पष्ट पारे । त्यस्तै उहाले पार्टीको मुख्य आधार र प्राण जनता नै भएकाले जनताको घरदैलोमा पुगेर उनीहरूको गुनासो, अपेक्षा र सुझाव सुन्ने तथा जनताको विश्वास पुनरावृत्ति गर्ने धारणा राखे ।

उनले देशमा बढ्दो बेरोजगारी, युवाहरूको विदेश पलायन, र जनताका दैनिक जीवनका समस्याहरूलाई गम्भीर रूपमा उठाएर तिनको सम्बोधनका लागि दबाब सिर्जना गर्ने उल्लेख गरे ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार