सोह्र श्राद्ध अर्थात् पितृ पक्ष वैदिक सनातन हिन्दू परम्परामा दिवंगत पितृहरूको स्मरण, सम्मान र श्रद्धा प्रकट गर्ने विशेष समय हो। सामान्यतः भाद्र शुक्ल पूर्णिमादेखि आश्विन कृष्ण औँसीसम्मको अवधिलाई सोह्र श्राद्ध भनिन्छ। आश्विन कृष्ण पक्षका १५ तिथिमा भाद्र शुक्ल पूर्णिमाको एक तिथि जोडेर १६ तिथि मानिने भएकाले यसको नाम सोह्र श्राद्ध रहन गएको हो। पहिलेपहिले सोह्रश्राद्धका सोह्रै दिन श्राद्ध गर्ने प्रचलन थियो ।
हाम्रो वैदिक सनातन परम्परामा जीवित छँदा आमाबुबा र गुरुजनप्रति आदरभाव राख्नु जति आवश्यक मानिन्छ, उहाँहरूको भौतिक अवसानपछि पनि उहाँहरूप्रति कृतज्ञता ज्ञापन गर्नु त्यत्तिकै महत्त्वपूर्ण मानिन्छ। यसै कृतज्ञता र सम्मान प्रकट गर्ने एउटा पवित्र अवसर सोह्र श्राद्ध हो ।
यस अवधिमा दिवंगत पितृहरूको मृत्युतिथिअनुसार तर्पण, पिण्डदान, सिदादान तथा अन्य श्राद्धकर्म गरिन्छ। परम्पराअनुसार श्राद्धकर्म अपराह्नमा गरिन्छ र दक्षिण दिशातर्फ फर्किएर पितृकर्म गर्ने चलन छ। श्राद्धमा गङ्गाजल, दूध, मह, तोरीको साग, नाति (छोरीको छोरो), कुश र कालो तिललाई अत्यन्त पवित्र मानिन्छपितृकर्म सम्पन्न नभएसम्म अन्य धार्मिक वा शुभ कार्यभन्दा श्राद्धलाई प्राथमिकता दिने परम्परा पनि छ।धार्मिक विश्वासअनुसार श्रद्धापूर्वक गरिएको तर्पण, पिण्डदान र श्राद्धबाट पितृहरू तृप्त हुने तथा परिवारमा सुख, शान्ति र समृद्धिको आशीर्वाद प्राप्त हुने मान्यता छ।
वैदिक मान्यता अनुसार पितृ पक्षको समयमा सूर्य दक्षिणायनतर्फ ढल्केका हुन्छन् र यस समयमा यमलोकबाट पितृहरू आफ्ना सन्ततिले दिएको तर्पण र पिण्डदान ग्रहण गर्न पृथ्वीलोकमा आगमन गर्छन् भन्ने विश्वास गरिन्छ। सोह्र श्राद्ध केवल धार्मिक कर्मकाण्डमा मात्र सीमित छैन; यसले परिवार र समाजलाई जोड्ने एउटा बलियो सांस्कृतिक पुलको काम पनि गर्छ। यस अवधिमा छोरी, भान्जा-भान्जी, ज्वाइँ, नाति-नातिना र गोतियार बन्धुहरूलाई घरमा निमन्त्रणा गरी ससम्मान भोजन गराउने र भोजनपछि सिधा तथा दक्षिणा दिएर आशीर्वाद लिने परम्परा छ।
जनकपुरको ऐतिहासिक गङ्गासागर पोखरी, काठमाडौँको पशुपति आर्यघाट, गोकर्णेश्वर, वराहक्षेत्र, देवघाट र बाणगङ्गाजस्ता देशका प्रमुख पवित्र नदी एवम् जलाशयहरूमा यस समयमा पितृलाई तर्पण र पिण्डदान दिने श्रद्धालुहरूको बाक्लो घुइँचो लाग्ने गर्छ।
पितृ पक्षका प्रमुख तिथि
आफ्ना पिता, माता वा अभिभावकको निधन जुन तिथिमा भएको हो, सोह्र श्राद्धको सोही तिथिमा नै गर्ने शास्त्रीय नियम छ। तर, कुनै कारणवश मृत्युतिथि थाहा नभएका वा अकालमा बितेका व्यक्तिहरूका लागि शास्त्रले केही विशेष तिथिहरू तोकेको छ ।
कुमार पञ्चमी (पञ्चमी तिथि): अविवाहित अवस्थामै निधन भएका परिजन वा बालबालिकाको श्राद्धका लागि यो तिथि विशेष मानिन्छ।
मातृनवमी (नवमी तिथि): यो तिथि दिवङ्गत आमा तथा कुलका समस्त दिवङ्गत महिलाहरूको श्राद्धका लागि अत्यन्त उत्तम मानिन्छ। यस दिन श्राद्ध गर्नाले कुलका सम्पूर्ण महिला पितृहरू तृप्त हुन्छन् भन्ने विश्वास छ।
एकादशी र द्वादशी: वैराग्य धारण गरेका, संन्यास लिएका वा घरबार त्यागेका पितृहरूको श्राद्ध यस तिथिमा गर्ने विधान छ।
चतुर्दशी तिथि: दुर्घटना, हत्या, आत्महत्या, डुबेर, आगलागी वा हतियार आदिका कारण अकाल मृत्यु (अपमृत्यु) भएका परिजनहरूको श्राद्धका लागि चतुर्दशी तिथि तोकिएको छ। सामान्य अवस्थामा बितेकाहरूको श्राद्ध भने यस दिन गरिँदैन।
सर्वपितृ औँसी (अमावस्या): कुनै कारणले पितृ पक्षका अघिल्ला तिथिहरूमा श्राद्ध गर्न बाधा परेमा, अशुद्धि (जुठो/सूतक) परेमा वा आफ्ना पितृको मृत्युतिथि पूर्ण रूपमा बिर्सिएको अवस्थामा यस दिन श्राद्ध गर्न सकिन्छ। यस दिन श्राद्ध गर्नाले कुलका समस्त पितृहरूले पिण्ड प्राप्त गर्ने मान्यता छ।
मातामह श्राद्ध (आश्विन शुक्ल प्रतिपदा): मावली तर्फका बाजेबज्यैको परिवारमा श्राद्ध गर्ने पुरुष वारिस नभएको अवस्थामा यस तिथिमा तिनको नाममा तर्पण र श्राद्ध गर्ने गरिन्छ।
श्राद्ध गर्दा पालना गर्नुपर्ने विधिहरू :
श्राद्ध सधैँ दिनको तेस्रो पहर अर्थात्अपराह्न कालमा गर्नुपर्छ। श्राद्ध सम्भव भएसम्म आफ्नै स्वामित्व भएको घर वा घरको आँगनमा रहेको तुलसीको मठ नजिक भुइँमा गर्नुपर्छ। अर्काको घर वा डेरामा श्राद्ध गर्दा पितृहरू अप्रसन्न हुने शास्त्रीय मान्यता रहेकाले सहरमा डेरा गरी बस्नेहरूले नजिकैको पवित्र तीर्थस्थल, नदी किनार वा मन्दिर परिसरमा गएर श्राद्ध गर्नु उत्तम हुन्छ।
श्राद्धकर्ममा गङ्गाजल, गाईको दूध, मह, तोरीको साग, नाति (छोरीको छोरो अर्थात् दौहित्र), कुश र कालो तिललाई सात प्रमुख र अति पवित्र वस्तु मानिन्छ। पिण्डको भित्री भागमा तुलसीको मञ्जरी लुकाएर चढाउँदा पितृहरू विष्णुलोक प्राप्त गर्छन् भन्ने धार्मिक विश्वास छ। श्राद्धमा प्लास्टिक, स्टिल, केराको पात वा फलामका भाँडा पूर्णतः वर्जित हुन्छन्; यसको सट्टा सुन, चाँदी, तामा, काँसा वा सालको पातका दुना-टपरी प्रयोग गरिन्छ।
श्राद्ध गर्ने व्यक्ति (कर्ता) ले श्राद्धको अघिल्लो दिन (एकछाकी) देखि नै नङ, केश काटी, स्नान गरी एकछाक मात्र चोखो सात्विक भोजन गर्नुपर्छ। सोह्र श्राद्धको पूरै अवधिभर वा श्राद्धका दिन घरमा माछामासु, मदिरा, लसुन, प्याज, भन्टा, मुसुरोको दाल, लौका, गाजर जस्ता तामसी खाद्यवस्तु प्रयोग गर्न पाइँदैन। श्राद्धकर्ताले ब्रह्मचर्यको पालना गर्नुपर्छ र दिउँसो सुत्न हुँदैन।
पितृ पक्षलाई शोक र स्मरणको समय मानिने भएकाले यस अवधिमा विवाह, व्रतबन्ध, गृहप्रवेश, नयाँ व्यापारको श्रीगणेश, गाडी, गहना वा घरजग्गा खरिद जस्ता शुभ र माङ्गलिक कार्यहरू गरिँदैन।
पहिले-पहिले पार्वण श्राद्ध गर्दा चार जना नै ब्राह्मण अगाडि राखेर पूजा गर्ने परम्परा रहेको र यो परम्परा लोप हुँदै गएर श्राद्ध मण्डपमा कुशको ब्राह्मण राख्न थालिएको हो। अन्य श्राद्धको विधि जस्तै सुरूमा देव-मनुष्य-दिव्यपितृ र स्वपितृलाई तर्पण दिइएपछि पार्वण श्राद्ध सुरू हुन्छ। सोह्रश्राद्धमा पितृकुल मातृकुलका तीन- तीन पुस्ता, सासू ससुरा र गुरुसमेतलाई ससम्मान श्रद्धा गरिन्छ।
पितृपक्षमा मांसाहारीहरू पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृहरूलाई फलफूल, दूध, नैवेद्य आदिले पूजा गर्दछन्। हिन्दुधर्ममा नै आस्था राख्ने कुनै जाति विशेषले भने श्राद्धमा पनि रक्सी, मासु चढाउने गरेको पाइन्छ। श्राद्ध आफ्नै घरमा गर्नुपर्छ भन्ने मान्यता रहेको छ । श्राद्धमा छोरीको छोरा (नाति), दिनको आठौँ भाग र कालो तिल पवित्र मानिन्छ ।
श्राद्धमा गर्न नहुने : श्राद्ध देखाउनका लागि गर्ने होइन, गुप्त रूपमा गर्नुपर्छ । धनी छ भने पनि श्राद्धमा धेरै खर्च र देखावटी नगर्नु । श्राद्धको दिन घरमा दही नमथ्नु । श्राद्धकै दिन कपाल नकाट्नु ।
यस्ता छन् श्राद्ध गर्दाका पालना गर्नुपर्ने मान्यताहरु :
१ श्राद्धकाल
पितृपक्षमा गरिने श्राद्ध दिनको तेस्रो पहरमा गर्ने गर्नु पर्दछ । तर एकोद्दिष्ट श्राद्ध (मरेको वार्षिक तिथिका दिन गरिने) श्राद्धमा दिनको दोस्रो पहरलाई लिने गरिन्छ । एकोद्दिष्ट श्राद्ध मध्याह्न कालमा, पार्वण श्राद्ध अपराह्नमा र आभ्युदयिकश्राद्ध प्रातःकालमा गर्ने विधान छ
२ श्राद्ध गर्ने ठाउँ
प्रत्येक गृहस्थीले नियमित श्राद्ध सम्भव भएसम्म घरैमा गर्नु पर्दछ । अरूको स्वामित्व भएको घर वा जमिनमा बसेर श्राद्ध गर्दा पितृहरू खुसी हुँदैनन् भन्ने मान्यता छ । तर बन्धुबान्धव र सगोत्रीको स्वामित्व भएको घर वा कोठाचोटामा श्राद्ध गर्दा फरक पर्दैन । अर्काको घर वा डेरामा श्राद्ध गर्दा पितृ अप्रसन्न हुनेमात्र होइन, तिनको शक्ति र सामर्थ्यमा पनि कमी आउँछ भन्ने शास्त्रीय मान्यता रहेको छ ।
३ श्राद्ध गर्नाले पितृदोषको शान्ति
जसको जन्मकुण्डलीमा सूर्य र राहु वा केतु ग्रहको युतिसम्बन्ध छ, त्यस्तो कुण्डली भएको व्यक्तिलाई पितृदोष रहेको छ भन्ने गरिन्छ । यसबाहेक नीच सूर्य, शनिबाधित सूर्य वा शनिको घरमा रहेको सूर्य हुँदा पनि पितृदोष नै ठहर्याउने गरिन्छ । यसरी पितृदोष हुँदा टाउको वा दिमागी बिमारी, निर्णय क्षमतामा कमी, धन नटिक्ने, उन्नतिप्रगतिमा रोकावट आदि विभिन्न बाधा ब्यहोर्नु पर्ने हुन्छ । पितृपक्षमा श्राद्धकर्मद्वारा पूर्वजहरूलाई दिवङ्गत भएको तिथिअनुसार पिण्डदान, तर्पण आदि गर्नाले पितृदोषबाट मुक्ति पाइन्छ ।
४ पितृको दिशा दक्षिण
तैत्तिरीय संहितामा बताइएअनुसार सृष्टिको प्रारम्भमा पूर्व, पश्चिम र उत्तर दिशा क्रमशः देवता, मनुष्य र रुद्रदेवलाई प्रदान गरिएको थियो, अनि दक्षिण दिशा पितृहरूको भागमा पर्यो । त्यसैले पितृहरूको श्राद्ध र पूजादि सदैव दाहिने काँधमा जनै भिरेर (अपसव्य भई) दक्षिण दिशातर्फ फर्किई गर्नुपर्दछ ।
५ श्राद्धका सात चीज
कुनै पनि श्राद्धमा गङ्गाजल, दूध, मह, तोरीको साग, छोरीको छोरो (दौहित्र), कुश र तिल महत्त्वपूर्ण मानिन्छन् । यसबाहेक श्राद्धमा प्रयोग गरिएको तुलसीको मञ्जरीबाट पितृगण प्रलयकालपर्यन्त प्रसन्न रहन्छन् भन्ने गरिन्छ र पिण्डको भित्री भागमा तुलसीको मञ्जरी लुकाउने चलन पनि छ । यसरी मञ्जरीको उपयोग गरेमा पितृगण गरुडमा सवार भई सीधै विष्णुलोक पुग्दछन् भन्ने मान्यता छ ।
६ श्राद्धका भाँडाकुँडा
श्राद्धमा प्लास्टिक, स्टील र फलामका भाँडाकुँडाको प्रयोग गर्नु हुँदैन । त्यस्तै केराको पात पनि चलाउनु हुँदैन । कर्ताको सामर्थ्यअनुसार श्राद्धमा सुन, चाँदी, झर्का (काँसा) वा तामाका पात्र अथवा सालको पातले बनेका दुना टपरीको प्रयोग गर्न गर्नुपर्छ ।
७ माङ्गलिक कार्य र किनमेल निषेध
श्राद्ध पक्षका पन्ध्र दिन कुरो छिन्ने, विवाह/व्रतबन्ध गर्ने, गृहप्रवेश गर्ने आदि कर्म निषेधित मान्ने गरिन्छ । श्राद्ध पक्षमा दीर्घ उपयोगका लागि धनलगानी गर्नु पनि अशुभ मानिन्छ । जस्तै मोटरवाहन, सुन, चाँदी, जग्गाजमिन आदिको खरिद गर्नु हुँदैन । सामान्यतया नयाँ व्यापार, व्यवसाय र उद्योगधन्दा वा कलकारखानाको सुरु पनि यस अवधिमा गर्ने गरिंदैन । त्यस्तै लामो दूरीको यात्रा पनि यस समयमा गर्नु हुँदैन ।
८ श्राद्धको खानपान र काम
सोह्रश्राद्धमात्र होइन, अन्य एकोद्दिष्टादि सामान्य श्राद्धमा पनि श्राद्धभन्दा एकदिन अगावै नङ, केश आदि काटी एकछाक मात्र सात्विक भोजन गरी चोखोनीतो गर्नु पर्दछ । श्राद्धको एक दिनअगाडिको दिनलाई एकछाकी भन्ने गरिन्छ । एकोद्दिष्ट श्राद्धमा एकछाकी र श्राद्धका दिन तथा सोह्रश्राद्धको पूरा अवधिभर घरमा तामसी भोजन माछामासु, मदिरा वा कुनै मादक पदार्थको सेवन र संसर्ग गर्नु हुँदैन ।पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्दछ । दिउँसो सुत्नु वा निदाउनु हुँदैन ।
९ श्राद्धमा पिण्डदान
श्राद्धभन्दा पहिले नै श्राद्धकर्ताकी पत्नी रजस्वला भएर सात दिन बितेको छैन भने पार्वण श्राद्धमा पिण्डदान गर्न हुँदैन ।
१० श्राद्धका दिन पितृकर्म प्रमुख
पितृश्राद्धका दिन पिण्डदानको कार्य पूर्ण नहुन्जेलसम्म हवनादि कार्य, भिक्षादान, देवपूजा, ब्रह्मचारी, तपस्वी र अभ्यागतहरूको आतिथ्यादि कुनै पनि काम गर्नु हुँदैन । श्राद्धका दिन पितृकर्म नै मुख्य र विशेष काम हो, त्यसैले पहिलो प्राथमिकता पितृकर्मलाई दिनु उपयुक्त हुन्छ, त्यसैले त्यस दिन पिण्डदानअघि अन्य समस्त कर्म प्राथमिकताका क्रममा राख्नु हुँदैन ।
११ श्राद्धमा ककसलाई डाक्ने वा नडाक्ने
यस कर्मका क्रममा विशेष गरी जसको श्राद्ध गरिंदैछ उसका छोरीपट्टिका नातिनातिना, गोतियार बन्धुबान्धव, ज्वाइँ र भान्जाभान्जीलाई निमन्त्रणा गर्नु अनिवार्य मानिन्छ । पितृकर्मका दिन पतित व्यक्तिहरूलाई आमन्त्रण गर्नु हुँदैन ।
१२ श्राद्धमा चढाउने फूलपाती
श्राद्धमा रातो रङको कुनै पनि वस्तुको प्रयोग निषेध गरिएको छ । यसमा तुलसी, भृ्ङ्गराज, सयपत्री, अगस्त्यपुष्प आदि पुष्पहरू ग्राह्य मानिन्छन् भने केत्तकी, करवीर, वकुल, कुन्दक र रातो रङका अन्य फूलहरू प्रयोग गर्नु हुँदैन ।
१३ श्राद्धको पितृप्रसाद वितरण
श्राद्ध सकिएपछि बाँडिने पितृप्रसाद आमन्त्रण गरिएका सबैलाई वितरण गर्नु पर्दछ, तर पिण्डमा चढाइएको पितृप्रसाद श्राद्धाधिकार पाएको सपिण्डीभित्रको दाजुभाइ र बन्धुबान्धवले मिलेर ग्रहण गर्नुपर्दछ । उक्त प्रसाद एउटै गोत्रभित्रका सगोत्री दाजुभाइलाई दिए पनि हुन्छ, तर अन्य गोत्रका व्यक्तिहरूले ग्रहण गर्न निषेध गरिएको पाइन्छ ।
वैदिक शास्त्रहरूमा उल्लेख भए अनुसार विधिवत् र निष्ठाका साथ पितृकर्म गर्नाले जन्मकुण्डलीमा रहेका पितृदोषहरू शान्त हुन्छन्। पितृहरूको सदाशय र आशीर्वादले सन्ततिको जीवनमा आयु, आरोग्यता, धनधान्य, विद्या, सन्तति सुख र समाजमा मानसम्मान प्राप्त हुने अटल धार्मिक विश्वास रहेको छ।