विराटनगर, चैत ११ :

नेकपा एमालेनिकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन भएका छन् ।

नेतृत्वले अध्यक्षमा दाबेदारी गरिरहेका राजेश राईलाई पछि हट्न दबाब दिएपछि महाधिवेशन स्थलमा रुवाबासीसमेत चलेको छ । विराटनगरमा जारी प्रेस चौतारीको दशौं महाधिवेशनमा नेकपा एमालेको नेतृत्वको दबाबका बीच राईले अध्यक्षको दाबेदारी छाडेका थिए । राईले अध्यक्षमा दाबेदारी छाडेपछि पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

महाधिवेशनमा राईले निर्वाचनको माग गरेका थिए । तर पार्टी नेतृत्वले निर्वाचन हुन दिएन । राईले अध्यक्षमा दाबी छाड्नुअघि भावुक सम्बोधन गरेका थिए । त्यसपछि उनीनिकट मानिएकाहरुले रुवाबासी गरेका थिए ।

पाण्डे नेतृत्वको प्रेस चौतारीको केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ । जसमा केन्द्रीय उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी चयन भए । महासचिवमा भने हीरामान लामा नै दोहोरिए ।

त्यस्तै उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरु विष्णु तारुके (संगठन), प्रदीप आचार्य (अर्थ), विक्रम लुइँटेल (प्रचार/प्रशिक्षण) र नरेश भण्डारी (विदेश) चयन भएका छन् ।

यस्तै कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा क्रमश: नूतन श्रेष्ठ, अच्युत पौडेल, प्रतिमा सिलवाल, गणेश पौडेल, टीकाबहादुर बस्नेत, याम शर्मा र दिलबहादुर छन्त्याल चयन भएका छन् । उपत्यका प्रदेश इन्चार्जमा हेमराज सिलवाल, प्रतिष्ठान इन्चार्जमा यसिमा महत र एसोसिएट इन्चार्जमा रघुनाथ सापकोटा चयन भएका छन् । 

यसैगरी समीर बलामीको अध्यक्षतामा १४ सदस्यीय अनुशासन आयोगको पनि चयन गरिएको छ । आयोगको उपाध्यक्ष र सचिवमा क्रमश: कृष्णहरि घिमिरे र संगम महत चयन भएका छन् ।

पाण्डे नेतृत्वको प्रेस चौतारीमा चयन भएका पदाधिकारीहरु को-को हुन् हेर्नुहोस् नामसूची :