
शनिबार रातिको मुसलधारे वर्षाले म्याग्दीको बेनीबजार आसपासमा बाढीले प्रभावित बनाएको छ। बाडीले विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडक लगायतका भौतिक संरचनामा क्षति पुर्याएको छ ।
पोखराबाट बेनीतर्फ गइरहेको ग २ च ९३५५ नम्बरको बोलेरो जिपलाई बागलुङ- बेनी सडक अन्तर्गत बेनी नगरपालिका- १ हुलाकेको खोल्साको बाढीले बगाएको छ । यात्रु र चालकले भागेर ज्यान जोगाएको जिल्ला प्रहरी कार्यालय बेनीले जनाएको छ ।
बेनी नगरपालिका- ९ मा रहेको जड भरत संस्कृत माध्यमिक विद्यालयको पाँचकोठे भवनको कक्षा कोठाभित्र बाढी पसेर पुरिएको छ ।
बेनी- जोमसोम सडकमा पहिरो खसेपछि खोल्सा र नालीको पानी बस्तीतर्फ सोझिँदा विद्यालयसँगै रहेको अन्न क्षेत्र र गलेश्वर ज्येष्ठ नागरिक आश्रमको भोजनालयमा बाढी पसेको छ ।
सशस्त्र प्रहरी, स्थानीयवासी आज बिहानैदेखि कक्षाकोठा र भोजनालयमा पसेको बाढी पन्छाउन जुटेको सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालले जानकारी दिनुभयो ।
बाढी र पहिराका कारण म्याग्दीका प्रमुख सडक अवरुद्ध भएका छन् । सम्बन्धित स्थानीय तह, पूर्वाधार विकास कार्यालय, बेनी- जोमसोम- कोरला सडक आयोजनामार्फत पहिरो पन्छाउने र सडक मर्मत गरेर यातायात सञ्चालनका लागि समन्वय भएको जनाइएको छ ।
पहिरोका कारण जिल्ला सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्र, छिमेकी जिल्ला बागलुङ, पर्वत र मुस्ताङसँगै म्याग्दीको यातायात सम्पर्कविच्छेद भएको छ ।