चितवन, चैत १२ :

नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कार्यकक्षमै कुटपिट भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा कार्यालयको डिजिटल बोर्डमा डिस्प्ले भएपछि आक्रोशित हुँदै कार्यालय पुगेका एमाले कार्यकर्ताले श्रेष्ठमाथि हातपात गरेको दाबी गरिएको छ ।

कार्यालयको डिजिटल बोर्डमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई गालीगलौज गरिएको शब्द डिस्प्ले भएपछि उनीहरुले श्रेष्ठलाई कार्यकक्षमै कुटेका हुन् । डिजिटल बोर्डको डिस्प्लेमा ‘केपी चोर, देश छोड’ भन्ने शब्द देखिएको थियो ।

उक्त बोर्डमा के लेख्ने भन्ने अधिकार (पासवर्ड) कार्यालय प्रमुख श्रेष्ठसँग मात्रै रहेको बताइए पनि श्रेष्ठले कार्यालयका अन्य कर्मचारीलाई पनि पासवर्ड थाहा भएको र ह्याक गरेर ती शब्द लेखिएको हुनसक्ने बताएका छन् ।

डिस्प्लेमा प्रधानमन्त्रीविरुद्ध कसरी त्यस्तो लेखियो र कार्यकक्षमै कुटपिटको अवस्था उत्पन्न भएको सम्बन्धमा अनुसन्धान भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिए ।कुटपिट गर्नेविरुद्ध लिखित उजुरी आएपछि संलग्नलाई कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

त्यसबारेमा २४ घण्टाभित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएको पौडेलले बताए । घिसिङलाई सरकारले बर्खास्त गर्ने निर्णय गरेपछि कार्यालयको बोर्डमा घण्टौँसम्म प्रधानमन्त्रीविरुद्धको नारा डिस्प्ले गरिएको थियो।  

यसैबीच, नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले एक विज्ञप्ति जारी गर्दै सूचना ह्याक गरी डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्ध अपशब्द उल्लेख भएकोप्रति भत्सर्ना गरेको छ ।

प्रधानमन्त्रीविरुद्ध अपमान जन्य सूचना अपलोड गराउनु संविधान तथा प्रचलित कानुनको बर्खिलाप भन्दै प्राधिकरणले उक्त घटनाको सत्य तथ्य छानबिन गरी उक्त कार्यमा संलग्न जो कोही व्यक्तिलाई कानुनको दायरामा ल्याई देशमा प्रचलित साईबर क्राईम तथा कानुन बमोजिम हदै सम्मको कारबाहीको माग गरेको छ ।

विज्ञप्तिमा बिहान १० बजेतिर  ३५-४० जनाको संख्यामा कार्यालय प्रमुखको कार्य कक्षमा प्रवेश गरी कार्यालय प्रमुखको कार्य कक्ष तोडफोड गर्नुका साथै कार्यालय प्रमुखलाई समेत कुटपिट गरेको भन्दै संलग्नमाथि कारबाहीको माग गरिएको छ । साथै कर्मचारीको पनि सुरक्षाको माग गरिएको छ ।