
सक्रिय न्युजको ‘सक्रिय हाइलाइट्स’मा आज नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमा सरकारले गरेको बर्खास्तको विरोधमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा विपक्षी दलहरुका सांसदले गरेको विरोध, भोलिसम्मका लागि संसद् बैठक स्थगित तथा सभामुखले संसद् सञ्चालनका लागि गरेको पहलको विषयका समाचार प्राथमिकताका साथ प्रस्तुत गरेका छौं ।
यस्तै प्रधानमन्त्री केपी ओलीले कुलमान घिसिङलाई हटाइएकोबारे आफूले जवाफ दिइसकिएको भन्ने एमालेनिकट युवा संघको कार्यक्रममा दिएको अभिव्यक्ति तथा इटहरीको सेन्टर प्लाजामा भएको आगलागी ६ घण्टापछि नियन्त्रणमा आएको समाचार समावेश गरेका छौं ।
साथै आजको सक्रिय हाइलाइट्समा हरियाली सेयर बजारमा देखिएको करेक्सनलगायतका समाचारहरुलाई मुख्य प्राथमिकताका साथ समावेश गरेका छौं ।
प्रस्तुत छ- सक्रिय न्युजको आजको हाइलाइट्स :
कुलमानलाई बर्खास्त किन ?
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीको विषयलाई लिएर विपक्षी दलहरुले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा अवरोध गरेका छन् । विपक्षीहरुको अवरोधका कारण प्रतिनिधिसभा आधा घण्टाका लागि र राष्ट्रिय सभा १५ मिनेटका लागि स्थगित गरिएको थियो । दलहरुबीच सहमति नजुटेपछि दुवै सदनका बैठक सूचना टाँस गरेर बिहीबारसम्मका लागि स्थगित गरिए ।
सदन नियमित गर्न सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिका दलका नेताहरूसँग छलफल थालेका छन् । विपक्षी दलहरुले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने अडान राखिरहँदा घिमिरेले पाँच दलका प्रमुख सचेतकसँग सदन खुलाउने विषयमा छलफल गरेका हुन् ।
ओलीको बोली
प्रधानमन्त्री केपी ओलीले कुलमान घिसिङलाई हटाइएकोबारे जवाफ दिइसकिएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले बुधबार गरेको कार्यक्रममा उनले विपक्षीले जो भन्यो त्यही नियुक्ति गर्ने सरकारको काम नभएको बताए । नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको ओलीको स्पष्टोक्ति थियो । एमाले अध्यक्षसमेत रहेका ओलीले युवा संघसँग कति तागत छ भन्ने कुरा कसैले आकलन नगरेको दाबी गरे । उनले देश र जनताका लागि परिआए प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि युवा संघले सक्षमता देखाउनुपर्ने बताए ।
जालझेलको आरोप
माओवादी अध्यक्ष पुष्पकमल दाहालले कुलमान घिसिङ हटाउन ओलीले जालझेल गरेको भन्दै त्यसबारे जवाफ नदिएसम्म संसद् चल्न नदिने बताएका छन् । सदन अवरुद्ध भएपछि बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले ओलीबाट आफू पटकपटक जालझेल र षड्यन्त्रको सिकार भएको दाबी गरे । सिंहदरबार गएर टीआरसीबारे टुंगो लगाएकै दिन ओलीबाट फेरि एकपटक ठुलो जालझेल भएको अध्यक्ष दाहालको भनाइ छ ।
साथै उनले आफूमाथि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले लगाएको आरोपको खण्डन गर्दै टीआरसीसँग कुलमान साट्यो भन्नु झुटो, बेइमानीपूर्ण र आपराधिक प्रचार भएको दाबी गरे ।
क्षति कति ?
इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागी ६ घण्टापछि नियन्त्रणमा आएको छ । आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल तथा झन्डै तीन सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । भवन ठुलो भएकाले आगो निभाउन बढी समय लागेको थियो । प्लाजाको सातौं तलामा फसेका ११ जनालाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
हरियाली स्टक मार्केट
सेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दिन मंगलबार ५८ अंक घटेको सेयर बजार बुधबार भने ३९.१३ अंकले बढेको छ । यस्तै सेन्सिटिभ इन्डेक्स ५.७१ अंकले बढेर ४४०.६९ अंकमा पुगेको छ । सबै सूचक बढेसँगै नेप्से २,६२१.८६ अंकमा रोकिएको छ । बुधबार ४ अर्ब २० करोड ४४ लाख रुपैयाँभन्दा बढीको कारोबार भए । आज माउन्टेन हाइड्रोले सेयर मूल्यमा धेरै कमाउँदा उपकार लघुवित्तले धेरै गुमायो ।