
अर्घाखाँचीको भुवनपाटामा आज (बुधबार) साँझ भएको बस दुर्घटनामा थप एकसहित चार जनाको मृत्यु भएको छ । मृतक तीन जनाको परिचय खुलेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा रुपन्देहीको बुटवल उपमहाननगरपालिका ८ बस्ने ५५ वर्षीया जमुना बस्याल, नवलपरासीको पश्चिम भूमही बस्ने ४५ वर्षीया उमा न्यौपाने, उनको ६५ वर्षीया सासू (नामथर नखुलेकी) र पश्चिम बर्दघाट बस्ने ४५ वर्षीय बस चालक मदनकुमार विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बस चालक विकको उद्धार गरी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
यसअघि १५ जना घाइतेको उद्धार गरिएकामा प्रहरीले घटनास्थलबाट थप १२ जनाको उद्धार गरेको जनाउँदै प्रहरी निरीक्षक पौडेलले घाइतेको सङ्ख्या २७ पुगेको बताए । उनका अनुसार घाइतेमध्ये ६ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ भने अन्यको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ ।
गोरुसिङ्गे- सन्धिखर्क सडकखण्डमा सुपा मन्दिर दर्शन गरी नवलपरासीका लागि फिर्ता हुँदै गरेको लु.२ख ३०३ नम्बरको बस बस अचानक अनियन्त्रित भई शीतगङ्गा नगरपालिका २, सीतापुरको भुवनपाटामा सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक पौडेलका अनुसार चालक विकको उद्धार गरी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।