नवलपरासी, चैत १४ :

घरघरमा खानेपानीको धारा पुगेसँगै नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका- ३, चम्घाका स्थानीय खुसी भएका छन् । 

पहाडी  क्षेत्र चम्घाका स्थानीयले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ, इकाइ कार्यालय नवलपुरमार्फत लिफ्टिङ गरेर खानेपानी घरघरमा पुर्याएपछि त्यो समस्या समाधान भएको छ । 

डोको र  गाग्री बोकेर पानी लिन मुहानमा जानुपर्ने अवस्थाको अन्त्यसँगै घरमै खानेपानीको धारा आउँदा स्थानीय सत्रमाया कुमाल खुसी छिन् । 

बुद्धि विकास प्राविका प्रधानाध्यापक श्रीधर कुमाल पनि विगतमा खानेपानीको सुविधा नहुँदा विद्यार्थीले पानी बोक्नुपर्ने हुँदा पठनपाठनमा पनि असर परेको स्मरण गर्छन् । “यहाँ बासिन्दाले खानेपानीको समस्या त कति झेले झेले १ विद्यालयमा समेत खानेपानी र सरसफाइमा समस्या थियो, पानी भर्न जाँदा विद्यार्थीको पठनपाठनै प्रभावित हुने अवस्था पनि आउँथ्यो तर हाल  खानेपानी योजना सम्पन्न भएपछि त्यो समस्या टरेको छ । जीवनयापन सहज भएको छ”, उनले भने । 

खोक्रेनी पँधेरोस्थित मुहानबाट खानेपानी लिफ्टिङ गरेर चम्घा र ददरालीका १२० परिवारलाई खानेपानी वितरण गरिएको चम्घा ददराली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खड्कबहादुर कुमालले जानकारी दिए ।

मोटरबाट पानी तानेर गाउँको माथिल्लो भागमा निर्माण गरिएको ट्याङ्कीमा जम्मा गर्ने र त्यसैबाट घरघरमा वितरण गर्ने काम भइरहेको उनले बताए । 

आयोजना बनेपछि विगतको समस्या समाधान भएको र थप घरमा समस्या समाधानको प्रयास भइरहेको अध्यक्ष कुमालको भनाइ छ ।