
उत्तर- दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी- जोमसोम- कोरला सडकअन्तर्गत बेनी- जोमसोम चौथो खण्डको मार्फा- जोमसोम आगामी वैशाखभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको छ ।
जिल्ला प्रशासन कार्यालयले बेनी- जोमसोम- कोरला सडक आयोजना र निर्माण कम्पनीसँग छलफल गरी मार्फा- जोमसोम खण्ड आगामी वैशाखभित्र कालोपत्र सम्पन्न गर्न निर्देशन दिएको हो ।
कोवाङ- जोमसोम १७ किलोमिटर सडकअन्तर्गत १२ किमी कालोपत्र हुँदा मार्फा- जोमसोम चार किमी र थासाङ- १ टुकुचेमा एक किमी सडक नौ महिनादेखि कालोपत्र हुन सकेको छैन ।
प्रशासन कार्यालयमा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जिल्लाका रुग्ण आयोजनाको विकास, निर्माणलाई यथाशीघ्र सम्पन्न गरी यात्रा सहज बनाउने विषयमा केन्द्रित रहँदै उक्त खण्डको कामलाई पहिलो प्राथमिकतामा राखेर पूर्वाधार तयार गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको जानकारी दिए ।
बैठकमा मार्फा- जोमसोम सडकमा कालोपत्र नहुँदा पर्यटक तथा स्थानीय नागरिकलाई परेको समस्या, समाधानका उपायलगायत विषयमा छलफल भएको थियो । आर्थिक वर्ष २०७३- ७४ मा ठेक्का सम्झौता भएको बेनी- जोमसोम सडकको चौथो खण्डमा हालसम्म छ पटक म्याद थप भइसकेको छ ।
निर्माण कम्पनीले कोवाङबाट मार्फासम्म कालोपत्र सम्पन्न भएको उल्लेख गर्दै जोमसोम क्षेत्रमा करिब २०० सय मिटर सडकमा आरसिसी सडक विस्तार गरिसकिएको जनाएको छ । निर्माण कम्पनीले चालु आवको सुरुदेखि हालसम्म मार्फा- जोमसोम खण्डको चार किमीमा आंशिक मात्र काम गरेर सडक अलपत्र पारेको छ ।