बैंकक, चैत २१ :

प्रधानमन्त्री केपी ओलीले मानवजातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास गर्नुपरेको बताएका छन् ।

थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) मा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीले मानवीय सुख, समृद्धि, सुरक्षा र आत्मसम्मानका लागि नेपाल सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताए ।

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षाको व्याख्या गर्दै मानवीय चाहना र सुखीभन्दा अर्को ठुलो कुरा विश्वामा नहुने विचार व्यक्त गर्दै जलवायु परिवर्तनलगायतका मुद्दामा साझा प्रयासका लागि आह्वान गरेका हुन् ।

नेपाली अध्यापक र विद्यार्थीसहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आधुनिक कृषिको विकास र २१औँ शताब्दीको मानवनीय जनशक्तिको उत्पादनमा जोड दिँदै एआईटीबाट उत्पादिन जनशक्तिले नेपालको जलस्रोतलगायत विकासका क्षेत्रमा योगदान दिने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीसँग थाइल्यान्डका व्यावसायीहरूको भेटवार्ता

प्रधानमन्त्री ओलीले एआईटीले नेपालमा खोज, अध्ययन र छात्रवृत्तिका लागि स्थापना गरिएको कोषमा एक लाख अमेरिकी डलर रकम जम्मा गर्ने घोषणा पनि गरे ।

थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले उक्त संस्थमा विश्वका विद्यार्थीहरुमध्ये बढी विद्यार्थी हुने मुलुकमध्ये नेपाल चौथो स्थानमा पर्ने भएकाले नेपाल र एआईटीको सहकार्य आफूहरुको प्राथमिकतामा रहेको बताए ।

एआईटीलमा अहिले १८१ नेपाली विद्यार्थी अध्ययनरत छन् । हालसम्म एक हजार सात सय ९५ नेपाली विद्यार्थीले अध्ययन गरिसकेका छन् । यस संस्थाको बोर्ड अफ ट्रस्टीमा तीन नेपाली सदस्य छन् । सातजना फ्याकल्टी मेम्बर नेपाली नै छन् ।

थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले पहिलो थाइल्यान्ड भ्रमण गरेका हुन् । प्रधानमन्त्री ओलीले आजै बिमस्टेक सम्मेलनमा सहभागी सदस्य मुलुकका राष्ट्र प्रमुख तथा सरकारप्रमुखसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम छ ।