
निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरु आन्दोलित भएका छन् । आवासीय चिकित्सकले आकस्मिकबाहेक सेवा छाडेर अस्पताल परिसरमा धर्ना दिएका छन्।
स्नातकोत्तर तह (पीजी) अध्ययन गर्ने चिकित्सकले आठौँ तह बराबरको निर्वाह भत्ता नपाएको भन्दै आजदेखि काम छाडेर आन्दोलनमा उत्रिएका हुन्। झन्डै २५ सय चिकित्सकले सेवा बहिष्कार गरेका छन्।
संघर्ष समितिले देशभरका १७ वटा निजी मेडिकल कलेजमा एमडी, एमएस, एमडीएस गर्ने आवासीय चिकित्सकले माग पूरा नभएसम्मका लागि आकस्मिकबाहेक सबै सेवा बहिष्कार गर्ने विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
समितिका अध्यक्ष डा. शेषराज घिमिरेले चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले गरेको निर्णयबमोजिम आठौँ तह बराबरको निर्वाह भत्ता नपाएपछि आवासीय चिकित्सक सेवा बहिष्कार गर्न बाध्य भएको बताएका छन्।
चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको थियो।
तर निजी मेडिकल कलेज सञ्चालकले भने आवासीय चिकित्सकलाई निर्वाह भत्ता नबढाउने अडान लिएका छन्।