
सक्रिय न्युजको ‘सक्रिय हाइलाइट्स’मा आज सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको,काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर मेयर बालेन्द्र शाह र उपमेयर सुनीता डंगोलबीच मनमुटाब भएको विषयका समाचार प्राथमिकताका साथ प्रस्तुत गरेका छौं ।
यस्तै सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको तथा वायु प्रदूषणले उपत्यकाका बासिन्दाको जनजीवनमा पारेको प्रभावलगायतका समाचार समावेश गरेका छौं ।
साथै आजको सक्रिय हाइलाइट्समा एकल अंकमै भए पनि बढेको सेयर बजारका कारण लगानीकर्तामा देखिएको उत्साहलगायत समाचारहरुलाई मुख्य प्राथमिकताका साथ समावेश गरेका छौं । प्रस्तुत छ सक्रिय न्युजको ‘सक्रिय हाइलाइट्स’ :
हितेन्द्रलाई मुद्दाले छेकेन
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निरन्तर रूपमा काम गर्न सक्ने भएका छन् । न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले बिहीबार घिसिङलाई अन्तरिम आदेश दिएन । तर यो मुद्दाले अग्राधिकार भने पाउने भएको छ । अर्थात् अब रिटको अन्तिम टुंगो नलागेसम्म नवनियुक्त कार्यकारी निर्देशक शाक्यले नै निरन्तर काम गर्न पाउनेछन् ।
उपमेयर हाबी
काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर मेयर बालेन्द्र शाह र उपमेयर सुनीता डंगोलबीच नै मनमुटाब भएको छ । जसकारण महानगरमा भाँडभैलोको स्थिति उत्पन्न भएको छ । जनप्रतिनिधि र कर्मचारीहरु दुई पक्षमा विभाजित भएका छन् । मेयर शाह र उपप्रमुख डंगोलबीचको खटपटसँगै महानगरभित्र काम गर्ने वातावरण जटिल बनेको छ । परिणामस्वरुप बिहीबार झन्डै साढे ३ महिनाको अन्तरालमा कार्यालयमा हाजिर हुन पुगेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको उपस्थितिलाई मान्न सकिन्छ । मेयरले गुरागाईंलाई प्रवेशमा रोक लगाउन भन्दै राजुनाथ पाण्डे नेतृत्वको नगर प्रहरी खटाएका थिए । सोहीअनुरुप पाण्डेले गुरागाईंलाई कार्यालयमा प्रवेशका लागि अवरोध गर्दा उपमेयर डंगोलले प्रतिवाद गरिन् । उनले पाण्डेलाई मेयरबाट लिखित आदेश आएको हो वा मौखिक आदेश मानेको हो भन्दै र्याखर्याख पारिन् ।
डंगोलले चेतवनीको भाषा प्रयोग गर्दै बिहीबार कार्यालयमा देखिएको दृश्यलाई ‘तमासा’ को संज्ञा दिँदै पाण्डेलाई मेयर जत्तिकै उपमेयरप्रति पनि ‘एकाउन्टेबल’ बन्न निर्देशन दिइन् ।
आऊ वार्ता गरौं
सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बिहीबार विज्ञप्तिमार्फत काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको जनाएका हुन् । विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक रहेको विज्ञप्तिमा उल्लेख छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन् ।
आँखा पोल्यो...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सूचकाङ्कअनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको हो । एक्यूआई मापनअनुसार शून्यदेखि ५० सम्म ‘स्वच्छ’, ५१ देखि एक सयसम्म ‘सामान्य’, एक सय एक देखि एक सय ५० सम्म ‘सम्भावित जोखिम’, एक सय ५१ देखि दुई सयसम्म ‘अस्वस्थकर’, दुई सय एकदेखि तीन सयसम्म ‘अत्यधिक अस्वस्थकर’ र तीन सय एकभन्दा माथि ‘खतरनाक’ मानिन्छ । हाल काठमाडौँमा वायु प्रदूषणकोस्तर तीन सय ४८ एक्यूआई पुगी ‘खतरनाक’ श्रेणीमा पुगेको मन्त्रालयले जनाएको छ । जसकारण उपत्यकाका बासिन्दामा आँखा पोल्ने र घाँटी दुख्ने समस्या देखिएको छ । अस्पतालहरुमा पनि बिरामीको चाप बढेको छ ।
एकल अंकको उकालो
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३.३५ अंकले बढेको छ । २,७०३.३९ अंकमा कायम रहेको नेप्सेमा बिहीबार ३२४ कम्पनीको ६९ हजार ८९ पटकको कारोबारमा एक करोड ५५ लाख दुई हजार नौ सय ९८ कित्ता सेयर किनबेच भए । जसअनुरुप ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार ४८७ रुपैयाँको कारोबार भयो । बिहीबार ९३ कम्पनीको मूल्य बढ्दा १५१ कम्पनीको घट्यो । १३ समूहको सेयर कारोबार भएकामा तीन समूहको बढ्दा बाँकीको घटे । आजको दिनमा कारोबार धेरै हुने कम्पनीको सूचीको पहिलो नम्बरमा हिमालयन री-इन्स्योरेन्स रह्यो ।
हेर्नुहोस् भिडियो :