
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा सभा सकेपछि आफैंले फोहोर संकलन गरेको छ । आफ्नो कार्यक्रम सकेपछि राप्रपाका कार्यकर्ताहरुले सभास्थल वरपरका फोहोर संकलन गरेका हुन्।
काठमाडौं महानगरले जरिबाना गर्नसक्ने कुरालाई मध्यनजर गदै राप्रपाका नेता, कार्यकर्ताहरू जुटेर फोहोर संकलन गरेका हुन् । यसअघि एक पटक महानगरलाई जरिवान तिरिसकेकफ राप्रपाले यसपटक बच्न आफूले गरेको फोहोर आफैंले उठाएको हो ।
कार्यक्रम चलिरहँदा उद्घोषक र नेताहरुले पनि बोतल तथा फोहोरहरू व्यवस्थित गर्न पटक पटक आग्रह गरेका थिए । अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनका क्रममा भएको फोहोर आफै टिपेर जान कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।
उनले हतारहतार जरिवाना पत्र काटेर हिरो नबन्न काठमाडौँ महानगरका मेयर बालेन साहलाई चेतावनी पनि दिए। कार्यक्रम सकिनासाथ पत्र काट्न बालेनलाई हतारो हुने गरेको बताए ।
पूर्वराजालाई विमानस्थल अगाडिबाट स्वागत गर्ने क्रममा फोहोर गरेको र सार्वजनिक सम्पत्तिमा नोक्सान पुर्याएको भन्दै राप्रपालाई १ लाख जरिवानाको पत्र काटेको थियो । पत्र काटेको भोलिपल्टै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नगरप्रहरी प्रमुखलाई जरिवाना तिरेको रसिद बुझाएका थिए ।
राजावादीको प्रदर्शनका क्रममा तीनकुने आसपास फोहोर गरेको र सार्वजनिक सम्पत्तिमा नोक्सान पुर्याएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि बालेनले जरिवाना पत्र काटेका थिए । पूर्वराजालाई काटेको पत्रलाई लिएर उनको समर्थन र आलोचना गर्ने दुवै उत्तिकै छन् ।