काठमाडौं, चैत २६ :

एक सातासम्म परीक्षण गरिएका महिलामध्ये ४८ जनामा एचपीभी डीएनए पोजेटिभ देखिएको छ ।

काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा चैत १२ गते थालेको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क परीक्षणका क्रममा चैत १८ गतेसम्मको रिपोर्टमा यस्तो अवस्था देखिएको हो ।

परीक्षणका लागि चैत २५ गतेसम्ममा ८४६ महिलाको नाम दर्ता भएको छ । उनीहरुमध्ये ६१३ जनाको परीक्षण भइसकेको महानगरले जनाएको छ । परीक्षण गरिएकामध्ये १४४ जनाको मेमोग्राम गरिएको छ । वंशानुगत स्तन क्यान्सर भएका, गएको वर्षको परीक्षणमा पोजेटिभ देखिएपछि बल्ल सम्पर्कमा आएका र यस वर्षको प्रारम्भिक परीक्षणका क्रममा थप जाँच गर्नुपर्ने देखिएका महिलाहरुको स्तनको मेमोग्राम गरिएको हो ।

परीक्षण गरिएकामध्ये २२ जनामा स्त्री तथा प्रसूतिसँग सम्बन्धित समस्या देखिएको छ । चैत १२ देखि परीक्षण सुरु भएको हो । त्यसयता सबैभन्दा धेरै परीक्षण भएका दिनमा १२६ जनाको जाँच गरिएको छ ।

प्रारम्भिक उपचार २०८२ वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ । गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट भएका ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला, गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिला परीक्षण र प्रारम्भिक उपचारको लक्षित समूह हुन् ।

जाँच गराउन सबैभन्दा पहिले आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ । यसरी विवरण टिपाएपछि केन्द्रबाट रेफरल स्लिप प्राप्त हुन्छ । यो स्लिप लिएर परीक्षणका लागि वीर अस्पताल सर्जिकल भवनको भुइँ तलामा जानुपर्छ ।

परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जाँचका क्रममा शंका लागेमा फाइन्ड निडल एस्पिरिसन (एफएनएसी) मा पठाइन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सर परीक्षणमा एचपीभी डीएनए पीसीआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ ।

यो शिविर महानगरपालिकाको दोस्रो संस्करण हो । पहिलो संस्करण २०८१ वैशाख ३ गते सुरु भएर त्यस महिनाभरि वडाहरुमा चलाइएको थियो । त्यस परीक्षणले क्यान्सरसँगै धेरै महिलामा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्याहरु देखाएको छ । त्यस बेलाको शिविरमा ८ हजार १४५ महिलाले जाँच गराएका थिए ।

जसमध्ये शंका लागेका ६ हजार ६२४ महिलाको पाठेघरको मुखको क्यान्सर पहिचानका लागि एचपीभी डीएनए परीक्षण गरिएको थियो । उनीहरुमध्ये ४५३ जनामा एचपीभी पोजेटिभ देखियो । पोजेटिभ देखिएका सबैलाई कल्पोस्कोपी गर्न बोलाइएकामा ३२८ सम्पर्कमा आएर परीक्षण गराए । त्यसपछि ३२८ जनाको बायोप्सी गरियो । यसरी बायोप्सी गरिएकामध्ये १२१ जनाको रिपोर्ट सामान्य आयो । १६१ जनामा सीआईएन वान, २४ जनामा सीआईएन टु र १४ जनामा सीआईएन थ्री देखियो । ३ जनामा  भने क्यान्सर भइसकेको देखिएकाले थप उपचारका लागि पठाइयो ।

क्यान्सरबाहेक प्रजनन स्वास्थ्य समस्यामा पाठेघरमा मासु पलाएको, सेतो गनाउने पानी बग्ने, पाठेघरको मुखको संक्रमण, पाठेघरको मुखमा मासु पलाएको तथा यौनजन्य रोगहरु देखिएका थिए ।

८ हजार १४५ जनामा गरिएको स्तन क्यान्सर परीक्षणमा १ जनामा ब्रेस्ट कार्सिनोमा पत्ता लाग्यो । त्यस क्रममा शंका लागेका ३१८ जनाको भिडियो एक्सरे गरिएको थियो । मेमोग्रामका लागि २८ जनालाई १५ जनालाई माइक्रोस्कोपिक परीक्षणका लागि सिफारिस गरिएको थियो ।

सीआईएन अर्थात् सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया क्यान्सरको प्रारम्भिक अवस्था हो । यो अवस्थाका ३ वटा तह (ग्रेड) हुन्छन् । पहिलो तहलाई सीआईएन वान, दोस्रोलाई सीआईएन टु र तेस्रोलाई सीआईएन थ्री भनिन्छ ।

ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ वर्षदेखि १० वर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । ३० वर्षदेखि ६० वर्ष समूहका महिलाले हरेक ५ वर्षमा एकपटक यसको परीक्षण गराउनु पर्ने चिकित्सकको सुझाव छ ।

१ जनाभन्दा धेरै पुरुषसँग यौनसम्पर्क भएका, १६ वर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौनसम्पर्कमा भएका, एचआईभीजस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) देखिएका, धूमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलालाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै हुन्छ ।