काठमाडौं, चैत २७ :

काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा आज हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार(आज) अपराह्न काठमाडौंको गौरीघाट, साँखु, मूलपानी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा वर्षा भएको छ ।  

बंगालको खाडीबाट आएको वायु र स्थानीय वायुबाट बनेको प्रणालीले हल्का वर्षा भएको मौसमविद् गोविन्द झाले बताए ।

यस्तै महाशाखाका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, खोटाङ, लमजुङ, पाल्पा र सल्यानमा वर्षा भएको छ । यसैगरी, कोशी प्रदेशको झापा, सुनसरी, सोलुखुम्बु क्षेत्रमा वर्षा भएको छ । खासगरी, कोसी बागमती, गण्डकी र लुम्बिनी प्रदेशको लमजुङ क्षेत्रमा मेघ गर्जनसहित वर्षा भएको छ ।  बिहीबार र शुक्रबार पनि वर्षाको सम्भावना रहेको छ ।

खराब अवस्थामा रहेको उपत्यकाको वायु प्रदूषणमा बुधबार सुधार देखिएको छ । अहिले काठमाडौंको एक्यूआई १७७ छ भने भक्तपुरको १५६ र पाटनको १६१ छ । यो अवस्था पनि खराब नै हो । तर, यसअघि काठमाडौंको वायु प्रदूषण २७७ एक्यूआईसम्म पुगेको थियो ।

हल्का वर्षाले काठमाडौंको वायुमा केही सुधार आउने अपेक्षा गरिएको छ । पानी नपरेका कारण उपत्यकको वायु केही हप्तादेखि खराब अवस्थामा रहेको छ । जसका कारण काठमाडौं उपत्यका विश्वकै प्रदूषित सहरको सूचीमा कायमै छ ।