प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्त्वहरु असफल भएको जनाउँदै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने दाबी गरेका छन् ।
एमालेको रुपन्देही जिल्ला कमिटीले आज (शुक्रबार) बुटवलमा गरेको जागरणसभामा ओलीले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी-विदेशी प्रतिक्रियावादी स्वार्थी तत्त्वहरुले एमालेलाई विभाजनको कोसिस गर्नेहरु असफल भएको टिप्पणी गरे ।
‘एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन् । म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान् नेताहरु पार्टीमा आउनेछन् । यस देशको विकासको भाग्यरेखा हामी आफैं कोर्छौं,’ ओलीले भने, ‘मान्छेको घरमा आगो लगाएर र पसलबाट चोरेर भाग्नेहरुले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन् ।’
राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अहिलेको सरकारले आफ्ना सबै प्रयास गरिरहेको उनले दाबी गरे । विगतमा आफ्ना कुशासन र निरङ्कुशताको राज सम्झिएर प्रतिगामी तत्त्वहरुले यस व्यवस्थालाई बदनाम गर्न अराजकता र अफबाह फैलाउन खोजे पनि त्यसबाट कुर्न विचलित नभई समृद्धि र सुसाशनको अहिलेको यात्रामा योगदान दिन ओलीले सबैमा आग्रहसमेत गरे ।
अहिलेको आधुनिक समयमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा पछि लाग्नु बेकार भएको जनाउँदै उनले लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउँदै जनताको समृद्धि र विकासलाई तीव्र गति दिन वर्तमान संयुक्त सरकार कटिबद्ध रहेको स्पष्ट गरे । देशका ठुला दलहरु नेपाली कांग्रेस र एमालेले मुलुकलाई स्थायित्व दिन र देशलाई परिवर्तनका लागि सरकार बनाएले यो सरकार (गठबन्धन) आगामी निर्वाचनसम्म जाने स्पष्ट गरे । ‘यो सरकार ढल्न त के हल्लन पनि हल्लँदैन,’ उनले भने ।
प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारको पालामा लुम्बिनीमा विभिन्न राजमार्ग, अस्पताल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ध्यान केन्द्र, कृषि उत्पादन क्षेत्रको विकासजस्ता अनेकै विकास र प्रविधिका योजना र कार्यक्रमहरु ल्याएको अवगत गराए ।
सभामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले समृद्धि र सुशासनका लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा भएका राम्रा कामलाई ओझेलमा पार्ने गरी गरिएका गलत प्रचारलाई चिरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
एमालेका सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमाले र यसको नेतृत्वले देश र जनताका पक्षमा गरेका कामबारे आफूहरु खुलस्त छलफल गर्न तयार रहेकाले विपक्षी र प्रतिगामी पक्षहरुबाट हुने गलत प्रचारको पछि नलाग्न आग्रह गरिन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सङ्घका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलगायत सहभागी थिए ।