
नेपाली कांग्रेस केन्द्रीय सदस्य उदय शम्शेर जबराले अन्य दक्षिण एसियाली देशका तुलनामा नेपाली ‘मिडिया’ स्वतन्त्र, निष्पक्ष र प्रभावकारी रहेको बताएका छन् ।
नेपाल पत्रकार मञ्चको आज ललितपुरमा आयोजित सातौं महाधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका उनले नेपाली मिडिया समाजका पहरेदारका रुपमा क्रियाशील रहेकामा त्यसको सराहना गरे ।
नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले पत्रकारको हकहितका लागि पत्रकार महासङ्घ सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।
सार्वजनिक प्रसारण सेवा नेपाल टेलिभिजनका नायब महाप्रबन्धक आरती चटौतले पत्रकारिता जोखिमपूर्ण पेसा भएको बताउँदै राज्यले पत्रकारिताको संवेदनशीलतालाई ध्यान दिनुपर्नेमा जोड दिइन् ।
मञ्चका अध्यक्ष युवराज विद्रोहीले कुनै पनि राजनीतिक दलमा पत्रकार लाग्न नहुनेमा जोड दिए ।
त्यस अवसरमा क्रियाशील पत्रकारिता पुरस्कार नायब महाप्रबन्धक चटौत, प्रताप स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका रामकला खड्कालाई प्रदान गरिएको थियो ।