प्रधानमन्त्री केपी ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन् । वडा नम्बर १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा ओलीले अस्पताल भवनको शिलान्यास गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीय बासिन्दाका साथै छिमेकी भारतका जनताको स्वास्थ उपचारमा समेत लाभ दिन सक्ने विश्वास व्यक्त गरे । उनले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको दाबी गरे ।
मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यवसायिकता र रोजगारीमा लाग्न प्रधानमन्त्री ओलीले आग्रहसमेत गरे ।
अस्पताल निर्माणका लागि दुई बिघामा १२ करोड ५९ लाख ७९ हजार चार सय ९६ रुपैयाँको लागतमा २०८३ माघ १४ भित्र बन्ने गरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता गरिएको छ ।
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकामा जग्गा प्राप्तिमा ढिलाइका कारण गौरादहमा अस्पताल निर्माण सुरु हुन सकेको थिएन ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतको उपस्थिति थियो ।