भुटानको थिम्पुमा भएको फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले चार स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेको छ । नतिजासँगै ४ राष्ट्र सहभागी भएको प्रतियोगितामा नेपाल दोस्रो भयो । भुटान पहिलो भयो ।
यिनै चार टिमको संयुक्त प्रशिक्षण शिविर पनि सम्पन्न भएको नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले जनाएका छन् । प्रशिक्षण अप्रिल ८-१० तारिख तथा प्रतियोगिता अप्रिल ११-१३ तारिखसम्म भएको थियो ।
नेपालको ७ खेलाडी फाइनल पुगेकामा चारले स्वर्ण जित्न सफल भए ।
महिला ५० केजी तौल समूहमा नेपालकी आरती बम्जनले भुटानकी जामो जिग्दाललाई ५-० अंकमा पराजित गरी पहिलो स्वर्ण दिलाइन् । महिला ५२ केजीमा नेपालकी अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५-० अंकले आधारमा हराउदै नेपाललाई दोस्रो स्वर्ण दिलाइन् ।
त्यसैगरी महिला ५४ केजीमा नेपालकी वर्षा श्रेष्ठले भुटानकै लामो तासीलाई ४-१ अंकको पछि पार्दै स्वर्ण जितिन् ।
पुरुष ५१ केजीमा नेपालका लक्ष्मण राईले भारत (सिक्किम) का कृष्णकैलाश राईलाई ५-० अंकको आधारमा पाखा लगाउँदै स्वर्ण जिते । पुरुष ४८ केजीमा नेपालका लालप्रसाद उप्रेती भुटानका प्रतिस्पर्धात्मक खेलमा दोर्जे मगरसँग ४-१ अंकले पराजित हुँदै दोस्रो भए ।
पुरुष ५४ केजीमा नेपालले ठूलो आशा गरिएका चन्द्रबहादुर थापा बंगलादेशका महोमद उन्सोवसँग फाइनलमा ३-२ अंकले चुके । तीनै राउन्ड नै आफ्नो पक्षमा पार्दै उत्कृष्ट खेल प्रदर्शन गरेका चन्द्रले अन्तिम राउन्डमा रेफ्रीको चेतावनी पाई अंक बराबर हुँदा पुनः जजहरूले अंक दिदा ३:२ ले पछि पर्दै रजतमा सीमित भए । यस अघि चन्द्रले सेमिफाइनलमा भारतका खेलाडीलाई ५-० ले पन्छ्याउँदै फाइनल पुगेका थिए ।
भुटान बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा नेपालबाट प्रशिक्षकमा मुख्य प्रशिक्षक ओलम्पियन प्रविन तुलाधर, आईबीए थ्री स्टार कोच दीपक महर्जनका साथमा सहयोगी प्रशिक्षकहरु उमेश कटुवाल र सन्दीप श्रेष्ठ थिए ।
भुटान बक्सिङ संघको निमन्त्रणामा प्रतियोगिता सञ्चालनका लागि टेक्निकल डेलिगेट हेडका रुपमा नेपालको पहिलो अन्तर्राष्ट्रिय टेक्निकल अफिसियल पुष्करराज पन्तलाई जिम्मेवारी दिइएको थियो ।
रेफ्री/जजमा नेपालबाट आईबीए थ्री स्टार रेफ्री/जज धनकुमार मैनाली, टु स्टर रेफ्री/जज सन्तोष आले मगर, वान स्टार रेफ्री/जज अनुराधा लामा, जीवन कवां र राजकुमार महर्जनले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
नेपालबाट सहभागी असिम न्यौपानेले स्कोरिङ अप्रेटरको भूमिका निर्वाह गरेका थिए ।