
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि आइतबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने तयारी गरेको छ। त्यस प्रदर्शनप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
राप्रपाले संविधान र नागरिक अधिकारका पक्षमा आवाज उठाउँदै निषेधित क्षेत्रसम्म अगाडि बढ्ने बताएको छ। तर, गृह मन्त्रालयले यस्तो कार्य कानुनको उल्लंघन भएको बताउँदै सम्भावित अराजकताप्रति कडा चेतावनी दिएको छ।
गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट मिति २०८२/०१/०७ गतेका दिन तोकिएका निषेधित क्षेत्र उल्लंघन गर्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको छ।’
मन्त्रालयले संविधान र कानुनको उल्लंघन गरेर समाजमा अराजकता फैलाउने गतिविधि सह्य नहुने स्पष्ट पारेको छ।
मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने तथा समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र त्यसमा संलग्न जो सुकैलाई कानुन बमोजिम कारबाही हुनेछ।’ हिंसा र उत्तेजना फैलाउने गैरकानुनी क्रियाकलापमा संलग्न नहुन पनि मन्त्रालयले सम्बन्धित सबै पक्षलाई आग्रहसमेत गरेको छ।