काठमाडौं, वैशाख ७ :

प्रधानमन्त्री केपी ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृंखला २ का प्रतियोगीहरुले भेटघाट गरेका छन् ।

विश्वभर रहेका नेपाली मूलका कलाकारमध्येबाट २३ मुलुकका छानिएका कलाकारसँग प्रधानमन्त्री ओलीले उनीहरुको प्रतिभा र नेपालीपनको एकत्वको भावनाको विस्तारको अभियानमा शुभेच्छासहित आइतबार भेट गरेका हुन् ।

इन्ट्रा फाउन्डेसनद्वारा सञ्चालित र नेपाल टेलिभिजनबाट प्रसारित शृंखलाका आयोजक र कलाकारलाई प्रधानमन्त्री ओलीले नेपाली कला, साहित्य, संस्कृति, नृत्य, हाउभाउ आदिलाई जीवन्त बनाउन प्रतियोगीहरुको भूमिका रहने बताए । विश्वका जुनसुकै कुनामा रहे पनि नेपालीमा रहने जनेटिक मोमोरीले नेपाली कला, संस्कृतिलाई जीवन्त बनाउने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल, भुटान, भारत, संयुक्त राज्य अमेरिका, दुबई, संयुक्त अधिराज्य बेलायत, अस्ट्रेलिया, जापान, म्यान्मार, पोर्चुगल, मलेसिया, थाइल्यान्डलगायत नेपाली मूलका प्रतियोगीको सहभागिता रहेको इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए ।