काठमाडौं, वैशाख १३ :

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन र चिन्तनको  रूपमा पहिचान कायम गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

लुम्बिनीमा शनिबार आयोजित  चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवमा उनले यस्तो बताएका हुन् । ‘लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन,चिन्तन र मननको केन्द्रका रूपमा पहिचान कायम गराउन सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘विश्वविख्यात योजनाविद् केन्जो टांगको गुरुयोजनालाई आधारमा लिई रामग्राम, देवदह, तिलौराकोट, गोटिहवा र निग्लिहवाजस्ता धार्मिक ऐतिहासिक स्थल समेट्दै लुम्बिनी क्षेत्रको एकीकृत विकास गर्ने लक्ष्य लिएको छ ।’

उनले बौद्ध धर्मावलम्बीको मर्म आत्मसात् गर्दै स्थानीय समुदायको अपनत्व र प्रकृति र विकासको  सन्तुलन आवश्यक रहेको औंल्याए । उनले संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ थान् को सोचलाई आत्मसात् गर्दै लुम्बिनीको विकास र प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसंघका १६ राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय समितिलाई पुन: सक्रिय बनाउन यसै वर्ष बैठक आह्वान गर्नेसमेत विश्वास दिलाए ।

एसियन बुद्विष्ट कल्चरल फेस्टिभलले लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्नसमेत टेवा पुग्ने मन्त्री पाण्डेको भनाइ छ । उनले लुम्बिनी विकास कोषको ऐन संशोधन गरिने पनि बताए ।

तीन दिन चल्ने कार्यक्रमको प्रधानमन्त्री केपी ओलीले शुभारम्भ गरे । कार्यक्रममा थाइल्यान्ड,कम्बोडिया,चीनलगायत ५० मुलुकका भिक्षुका साथै बौद्ध धर्मावलम्बीको उपस्थिति छ ।