
संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पशुपति विकास कोषको ऐनलाई परिमार्जन गरेर समयसापेक्ष बनाउने बताएका छन् ।
पशुपति क्षेत्र विकास कोषको ३९औं वार्षिकोत्सवमा बुधबार उनले कोषको ऐन परिमार्जन गर्ने गरी मस्यौदा तयार गरिएको जनाए । उनले अब चाँडै उक्त मस्यौदा मन्त्रिपरिषद् हुँदै संसद्मा लैजाने प्रतिबद्धता जनाए ।
पशुपतिनाथ विश्वका हिन्दु धर्मावलम्बीको आस्थाको धरोहरको रहेको बताउँदै उनले पशुपतिनाथले नेपालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन सफल भएको दाबी गरे । मन्त्री पाण्डेले नेपालको सभ्यताको पहिचानका रुपमा रहेको पशुपतिनाथलाई थप व्यवस्थित गर्दै अघि बढ्ने उनको प्रतिबद्धता छ । पछिल्लो समय नराम्रा कुराको अत्याधिक प्रचारका कारण राम्रा कुरा ओझेलमा परेकोप्रति उनको चिन्ता थियो ।
कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले नराम्रा कुराको प्रचार हुँदा मुलुकबाट बौद्धिक व्यक्तित्व पलायन भइरहेकोमा चिन्ता जनाए । मुलुकमा बौद्धिक व्यक्तित्वको आवश्यकता रहेको उनको भनाइ छ । उनले विश्व सम्पदामा सूचीकृत लुम्बिनी विकाष कोष र पशुपति विकास कोषबीच सहकार्यसहित अघि बढ्न सुझाए ।