
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकमा स्वास्थ्य जनशक्तिको अभाव नरहे पनि टिकाउनै चुनौतीपूर्ण रहेको बताएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को २३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले उपत्यकाभित्रका स्वास्थ्य संस्थामा जनशक्ति रहे पनि बाहिर अभाव रहेको बताएका छन् ।
‘काठमाडौँ उपत्यकाबाहिर नौवटा दरबन्दी भएको सङ्घीय अस्पतालमा एकजना मेडिकल सुपरिटेन्डेन्ट मात्र कार्यरत हुनुहुन्छ । जनशक्ति उत्पादन गर्ने, स्वदेशमै टिकाउने, दुरदराज खटिने स्थिति बनाउन पर्नेछ,’ उनले भने, ‘ त्यसका लागि कम खर्चिलो, नागरिकलाई आर्थिक दायित्व कम हुने जनशक्ति उत्पादनलाई सहज बनाउन जरुरी छ ।’
उनले स्वास्थ्य क्षेत्रमा जनशक्ति वृद्धि गर्ने देशको आवश्यकता भएकाले राज्यकै लगानीबाट जनशक्ति उत्पादन गरी देशभित्रै टिकाउन प्रोत्साहन र सहुलियत प्रदान आवश्यक रहेको धारणा राखे ।
मुटु, मिर्गौला र क्यान्सरजस्ता रोगका उपचारका लागि सबै प्रदेश अस्पतालमा सेवा विस्तार गरिए पनि लोक सेवाको परीक्षा दिई ती ठाउँमा गएर काम गर्छु भन्ने जनशक्तिको अभाव देखिएकाले न्याम्सले नीतिगत प्रस्टता लिनुपर्नेमा उनले जोड दिए ।
मन्त्री पौडेलले भने, ‘वीर अस्पतालको जगमा उभिएको प्रतिष्ठानले थुप्रै जनशक्ति उत्पादन र स्वास्थ्य सेवा उपलब्ध गराएको छ । केही वर्षपछि नेपालमा सबैभन्दा बढी स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने संस्थाका रुपमा प्रतिष्ठान रहनेछ ।’
राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. आरपी विच्छाले सरकारद्वारा प्रस्तुत आगामी नीति र कार्यक्रममा बिमाको पुनःसंरचनादेखि प्रत्येक प्रदेशमा गम्भीर किसिमका रोगको विशिष्ट सेवा प्रदान गर्ने तथा बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार सुनिश्चित गर्ने विषय समेटिएको बताए ।
उनले जति नीति र कार्यक्रम ल्याएका छौँ, त्यसको कार्यान्वयन गर्ने अग्रणी संस्थाका रुपमा न्याम्स रहेको बताए । प्रतिष्ठानले १०० भन्दा बढी विधाका कार्यक्रम सञ्चालन गरिरहेको छ, यहाँबाट उत्पादित जनशक्ति देशका कुनाकुनामा पुगेको बताए ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेतले प्रतिष्ठानले चिकित्सा शिक्षाको अनुसन्धान र स्वास्थ्य क्षेत्रको गुणस्तरमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको बताए ।
प्रतिष्ठानबाट हालसम्म तीन हजार ६८० चिकित्सकले विशेषज्ञता हासिल गरिसकेका छन् । विसं २०५७ जेठमा गठन भएको कमिटीको प्रतिवेदनका आधारमा विसं २०५९ स्थापना भएको प्रतिष्ठानले चिकित्सा क्षेत्रमा अघि बढ्ने अवसर प्राप्त गरेको छ । १३५ वर्षअघि स्थापना भएको वीर अस्पतालको जगमा प्रतिष्ठान अघि बढिरहेको छ ।
प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. लोचन कार्कीले प्रतिष्ठान मातहत २४ वटा अस्पताल आबद्ध रहेको तथा १२ वटामा विभिन्न ‘फेलोसिप’ सञ्चालन भइरहेको बताए ।
वीर अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माले वीर अस्पतालले विभिन्न आरोह अवरोध पार गर्दै ७२ शय्याको आइसियूसहित ९६६ शय्यामार्फत सेवा प्रदान गरिरहेको जानकारी दिए ।
आधारभूत तथा विशिष्टीकृत सेवा प्रदान गर्दै आएको वीर अस्पतालले गत वर्ष बहिरङ्ग सेवामार्फत ६ लाख ३५ हजार २८६, आकस्मिकतर्फ करिब ३६ हजार १२२ तथा वार्डमा भर्ना भई उपचार गर्नेको सङ्ख्या २० हजारभन्दा बढी रहेको जानकारी उनले दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा चिकित्सा क्षेत्रका विशिष्ट योगदान पु¥याएबापत पुराना विशेषज्ञ चिकित्सक प्राडा सुदीपकुमार भट्टाचार्यलाई सम्मान गरिएको थियो ।