काठमाडौं, वैशाख ३१ :

काठमाडौँ महानगरपालिका २४, मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई घरमा आगलागी हुँदा मृत्यु भएकी वृद्धाको सनाखत भएको छ । 

आगलागीमा परेर काभ्रेकी ८० वर्षीया विष्णु अधिकारीको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

आज बिहान ग्यास चुहिएर दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको कच्ची घरमा लागेको आगो नजिकै रहेको रुकेश श्रेष्ठको पाँचतले पक्की घरमा समेत फैलिएको थियो । आगलागी बिहान १० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

करिब तीन घण्टासम्म लागेको आगो नियन्त्रणमा लिन सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको प्रहरी उपरीक्षक बोहराले बताए । जुद्ध बारुणका दुई, नेपाली सेनाको एक, ललितपुर महानगरपालिकाको एक, रामहिटिको एक र बालाजु औधोगिक क्षेत्रको एक गरी ६ वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।