काठमाडौं, वैशाख ३१ :

प्रधानमन्त्री केपी ओलीसँग नेपालमा रेल्वेको विकासका विषयमा दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पोरेसन’ का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हान मुन ही नेतृत्वको भ्रमण दलले छलफल गरेको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बुधबार भएको भेटमा १२६ वर्षे रेल्वेको इतिहास बोकेको कोरियको स्थापित उक्त कम्पनीले नेपालमा रेल्वे निर्माणका लागि सहकार्य गर्ने इच्छा देखाएको छ । भेटका अवसरमा ‘स्काइ वाक’ कम्पनीले तयार गरेको चतराधाम-चौरीखर्कसम्मको ‘एभरेस्ट रेलवे प्रोजेक्ट’को एनिमेसन-भिडियो प्रस्तुत गरिएको थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसहित सहभागी छलफलमा प्रधानमन्त्री ओलीले नेपालले जनकपुरबाट रेल सञ्चालन गरिसकेको जनाउँदै अन्य स्थानमा रेल्वे निर्माण र सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भमा कोरियाली सहकार्यको पहल सकारात्मक भएको बताए ।

कर्पोरेसनका प्रतिनिधिले यसअधि भौतिक पूर्वाधार मन्त्रालय र लगानी बोर्डसँग गरेको भेटेर रेल्वे निर्माण र सहकार्यका लागि संयुक्त कार्य समूह बनाइ अध्ययन गर्ने विषयमा समझदारी गरेको थियो ।