काठमाडौं, जेठ १ :

अनलाइन पोर्टल अनलाइनखबर डटकमको प्रधान सम्पादकबाट शिव गाउँलेले राजीनामा दिएका छन् । उनको राजीनामासँगै सम्पादकको भूमिकामा रहेका वसन्त बस्नेतलाई प्रधान सम्पादकको जिम्मेवारी दिइएको छ ।

बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित प्रधानमन्त्री केपी ओली उपस्थित भएको एक कार्यक्रममा सहभागी संख्या न्यून भएको तस्बिरसहितको समाचार सम्प्रेषणपछि प्रधान सम्पादक गाउँले र अनलाइनखबरको आलोचना भएको थियो ।

पछि अनलाइनखबरले समाचार सत्य नभएको भन्दै सामग्री हटाएको थियो । समाचार हटाइएको विषयको पनि आलोचना भएको थियो । पत्रकारितामा पोस्ट डिलिटलाई आचारसंहिताविपरीत मानिन्छ । समाचार गलत भए अर्को समाचार वा सूचनाका माध्यमबाट सच्चाउनु उपयुक्त हुन्थ्यो ।

अनलाइनखबरको प्रधान सम्पादकबाट राजीनामाबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गाउँलेले भनेका छन्- ‘अनलाइनखबरको प्रधान सम्पादक पदबाट बिदा लिएको छु । अध्यक्ष धर्मराज भुसाल, प्रबन्ध निर्देशक सुरेश भुसाल र सम्पादकीय सहकर्मीहरुमा आभार व्यक्त गर्दछु । प्रतिक्रिया र आलोचनामार्फत मलाई जवाफदेही बन्न प्रेरित गर्ने आदरणीय पाठकहरुलाई धन्यवाद !’

अनलाइनखबरका सिनियर सब-एडिटर सहदेव चौधरीले प्रधान सम्पादकमा बस्नेत नियुक्त भएको जनाएका छन् ।

दुईवटा तस्बिरसहित उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘अनलाइनखबर डटकमको प्रधानसम्पादक शिव सरको बिदाइ र नयाँ प्रधान सम्पादकमा वसन्त सरको स्वागत ।’

१४ वर्षदेखि पत्रकारितामा सक्रिय बस्नेतले यसअघि कान्तिपुर दैनिकमा राजनीतिक संवाददाता, नागरिक दैनिकमा रिपोर्टिङ तथा सम्पादनको कार्य गरिसकेका छन् ।

यसैगरी उनले अन्नपूर्ण टुडेमा सम्पादक र अन्नपूर्ण पोस्ट दैनिकमा समाचार सम्पादक, नेपाल म्यागेजिनमा सम्पादक र शिलापत्र डटकममा प्रधान सम्पादकको जिम्मेवारी सम्हालिसकेका छन् ।

बस्नेतका मधेस आन्दोलनको सेरोफेरोमा लिखित ‘७२ को विस्मय’, पूर्वी पहाडको परिवेश समेटिएको चर्चित उपन्यास ‘महाभारा’ र ‘सिमसारा’ प्रकाशित छन् ।