
काठमाडौंको तारकेश्वर नगरपालिका–७, फुटुङमा नक्कली कागजात बनाउने गिरोहमाथि प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखा निवासी अञ्जनी बयलकोटी, ओखलढुंगाका निर्मल खड्का र मकवानपुरकी अञ्जु खत्री छन्। प्रहरीले उनीहरूलाई सरकारी, शैक्षिक, बैंक तथा अन्य कागजात नक्कली बनाएर बिक्री वितरण गर्ने गरेको आरोपमा पक्राउ गरेको हो।
बयलकोटीले विगत ८ वर्षदेखि नक्कली सिफारिस, शैक्षिक प्रमाणपत्र, जग्गाधनी पूर्जा, सवारी चालक अनुमति पत्र लगायत कागजात बनाउँदै आएकी थिइन्। उनले दुई जनालाई मासिक तलब दिएर काममा समेत लगाएकी थिइन्।
उनीहरूले डिपेन्डेन्ट भिसाका लागि नक्कली विवाह प्रमाणपत्र, ऋणका लागि नक्कली जग्गाधनी पूर्जा, जापान जान चाहनेहरूका लागि सहकारीको स्टेटमेन्ट र मेडिकल कार्ड बनाउने गरेको खुलेको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । प्रहरीले थप अनुसन्धान जारी राखेको छ।