
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग विपिन जोशीको अवस्था र स्वदेश फिर्तीका बारेमा थप पहलका लागि आग्रह गरेकी छन् ।
सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौं आएका कतारको विदेश मन्त्रालयका विशेषदूत बदर उमर इस्माइल अल दफासँग राणाले यस्तो आग्रह गरेकी हुन् । परराष्ट्रमन्त्री राणासँग भएको शिष्टाचार भेटका क्रममा हमासको अपरहणमा परेका नेपाली युवक विपिन जोशीको अवस्थाबारे कुराकानी भएको थियो ।
उनले विपिन जोशीको रिहाइ र नेपाल फिर्तीका लागि कतारले गर्दै आएको प्रयासका लागि धन्यवाद ज्ञापन गर्दै यस विषयमा निरन्तर पहल जारी राख्न र जोशीको रिहाइका लागि थप पहल गरिदिन पुनः आग्रह गरेकी हुन् ।
यसअघि पनि राणाले कतारका विदेशमन्त्री तथा इजरायलसँग हमासको शान्ति वार्ताका प्रमुख मध्यस्थकर्तासँग विपिनको रिहाइका लागि आवश्यक पहल गरिदिन बारम्बार आग्रह गरेकी थिइन् ।
सन् २०२३ देखि नै हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी जोशीको रिहाइ र स्वदेश फिर्ताका लागि सहयोग गर्न नेपाल सरकारका तर्फबाट विश्व समुदायसँग आग्रह भइरहेको छ ।