काठमाडौं, जेठ ३ :

देशका विभिन्न स्थानमा आज (शनिबार) राति पनि वर्षा, हुरी तथा हिमपातको सम्भावना देखिएको छ ।

जल तथ मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार साँझ ६ बजे जारी गरेको बुलेटिनअनुसार राति खासगरी पाँचवटा प्रदेशमा वर्षाको सम्भावना छ । देशका बाँकी स्थानमा पनि कतै-कतै पानी पर्ने सम्भावना छ ।

यसैगरी चारवटा प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिउँ पर्ने तथा मधेस र कोसी प्रदेशका तराईमा हुरी, हुन्डरी आउने सम्भावना छ ।

शनिबार राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणत: बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, बागमती र गण्डकी प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जनाएको छ । मधेस प्रदेशलगायत कोसी प्रदेशको तराईका भू-भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भानवा छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ ।

-फाइल तस्बिर