
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले समुदायहरूमा आएको तीव्र परिवर्तनका कारण हाम्रा संस्कृति, इतिहास र सम्पदाहरू लोप हुने खतरा बढ्दै गएको बताएका छन् ।
विश्व संग्रहालय दिवस २०२५ का अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले समाज परिवर्तनशील हुँदै गइरहेको भए पनि विगतका संस्कृति र इतिहासलाई संरक्षण गर्नु अत्यन्त आवश्यक भएको उल्लेख गरे । तीव्र बसाइँसराइ र सामाजिक रुपान्तरणका कारण संस्कृति तथा सम्पदाको संरक्षण चुनौतीपूर्ण बन्दै गएको पनि उनको भनाइ छ ।
मन्त्री पाण्डेले संग्रहालयहरू केवल वस्तुहरूको संग्रहालय नभई, ती हाम्रा पहिचान र भावनाको प्रतिनिधित्व गर्ने थलो भएको धारणा व्यक्त गरे । ‘हामीसँग रहेका सम्पदाहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उचित सम्मान र चर्चा पाउनुपर्छ,’ उनले भने, ‘संग्रहालय र सम्पदा संरक्षणका लागि सरकार प्रतिबद्ध छ ।’
उनले संग्रहालयको महत्त्व र गरिमालाई मूर्त तथा अमूर्त रूपमा संरक्षण गर्नुपर्ने मूल सन्देशलाई आत्मसात् गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । साथै काठमाडौं उपत्यकामा नेवार समुदायले आफ्नो संस्कृति जोगाइराख्न सफल भएकामा खुसी व्यक्त गर्दै त्यसलाई उदाहरणीय अभ्यासका रूपमा उल्लेखसमेत गरे ।