
नेपाल प्रहरीको साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्।
सोमबार बिहान ८:५६ बजे उनले सगरमाथाको चुचुरोमा पुगेर नेपाल प्रहरी, राष्ट्रिय झन्डा तथा लैंगिक हिंसाविरुद्धको सन्देशसहितको ब्यानर फहराएकी हुन्।
प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार असई शेर्पा सगरमाथा चढ्ने पहिलो महिला प्रहरी अधिकारी बनेकी छन्। उनी प्रहरी प्रधान कार्यालयको महिला तथा बालबालिका निर्देशनालयमा कार्यरत छन्।
प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले चैत २५ मा झन्डा हस्तान्तरण गरी शुभकामना दिएका थिए। आरोहण टोली चैत २८ मा काठमाडौंबाट प्रस्थान गरेको थियो।
यसअघि २०८० जेठ २ गते प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले पहिलोपटक नेपाल प्रहरीको तर्फबाट सगरमाथा चढेका थिए। महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्धको सन्देश दिन शेर्पाले यो आरोहण गरेको जनाइएको छ।