
देशभर आज (बुधबार) आंशिकदेखि साधारणत: बदली रहनेछ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागका थोरै स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।
बुधबार राति भने कोसी, मधेस, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणत: बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
कोसी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । कोसी, बागमती र गण्डकी प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
देशमा अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।