
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ तिलगाउँमा बाढीपहिरो गएको सात दिनपछि आज राहत सामग्री पुर्याइएको छ।
जेठ १ गते राति आएको हिमपहिरोले घरवार विहीन बनेका १९ घरपरिवारका लागि नाम्खा गाउँपालिका, उद्योग वाणिज्य संघ र ‘आधार नेपाल’ संस्थाको टोलीले राहत सामग्री पु-र्याएको हो। गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा स्वयं राहत लिएर तिल गाउँ पुगेका छन्।
प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार पीडितलाई खाना, बास र लुगाको अभाव भएकाले आवश्यक राहत सामग्री पु-र्याइएको हो। राहतमा १० क्विन्टल चामल, १०० लिटर तेल, २ क्विन्टल नुन, २ क्विन्टल चिनी, ३० क्विन्टल मैदा, १/१ क्विन्टल चिउरा र भुजा, चिया, आलु र तरकारीको बीउ, साबुन, औषधि र सिमेन्ट समावेश छन्।
त्यस्तै, नेपाल रेडक्रस सोसाइटी हुम्ला शाखाले पनि कम्बल, त्रिपाल र म्याट्रेससहित राहत लिएर त्यसतर्फ प्रस्थान गरेको छ। खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयले एक हजार ८०० मिटर पाइप सहयोग गरेको छ।
हाल तिलका १९ घरपरिवारका ३३ जना त्रिपालमुनि बसिरहेका छन्। राहत सामग्री हल्जीबाट गाडीमा र त्यसपछि भरिया, घोडा तथा खच्चडको सहायताले तिल गाउँ पुर्याइएको हो।