काठमाडौं, जेठ ८ :

 सामाजिक सञ्जालमार्फत युवकलाई फसाएर होटलमा बोलाई अश्लील फोटो तथा भिडियो खिची ठगी गर्ने दुई महिलालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलाली घर भई हाल काठमाडौँ महानगरपालिका–५ मा बसोबास गर्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ की ३४ वर्षीया आँचल श्रेष्ठ उर्फ आँचल चौगुठी रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले फेसबुकमार्फत एक पुरुषसँग सम्पर्क बढाई ठमेलस्थित एक होटलमा बोलाएका थिए। त्यहाँ खाजा र मादक पदार्थ खुवाएर पीडितलाई अचेत बनाएपछि नग्न फोटो र भिडियो खिचिएको थियो।

प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार ती महिलाहरूले पीडितलाई ती अश्लील तस्बिर र भिडियोको स्क्रिनसट देखाई धम्की दिएका थिए। ‘यदि घर र ४ आना जग्गा नदिए यौनशोषणको मुद्दा लगाइदिन्छौं’ भन्दै दबाब दिई ५ लाख रुपैयाँको चेक समेत काट्न बाध्य पारेका थिए।

प्रहरीले अनुसन्धानका क्रममा काठमाडौँ महानगरपालिका–११, हनुमानस्थानबाट उनीहरूलाई बुधबार पक्राउ गरेको हो। पक्राउसँगै उनीहरूको साथबाट दुई थान मोबाइल र प्राइम कमर्सियल बैंकको नाममा काटिएको ५ लाख रुपैयाँको चेक पनि बरामद गरिएको छ।

पक्राउ परेका दुवै महिलामाथि आपराधिक लाभसम्बन्धी अभियोगमा जिल्ला प्रहरी परिसर, भद्रकालीमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।