काठमाडौं, जेठ १२ :

युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा खेलाडी दुर्घटनाविरुद्धको सचेतना कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको समन्वयमा भएको कार्यक्रममा सहभागीलाई खेलका दौरान हुने दुर्घटनाबाट तत्काल कसरी उद्धार गर्ने भन्ने बारे प्रशिक्षण दिइएको थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन-२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षणमा रहेका उसु, जुडो र कबड्डीका ४० खेलाडी र ६ प्रशिक्षक गरी ४६ जना सहभागी थिए ।

सहभागीलाई सहजकर्तामा प्रा.डा. रविराम श्रेष्ठ, सह प्रा.डा. ऋषि विष्ट, डा. लुना शर्मा खनाल, सह प्रा.डा. ऋतु प्रधान, डा. निर्माणप्रसाद ज्ञवाली र सह प्रा.डा. अभय पोखरेलले खेलाडी दुर्घटनाविरुद्धको सचेतनाबारे ज्ञान दिएका थिए ।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेत, राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, प्रतिष्ठानका सह निर्देशक डा. मिनचन्द्र अधिकारी, प्रतिष्ठानका रजिष्ट्रार डा. ज्ञानेन्द्रविक्रम शाह, खेलकुद मन्त्रालयका सह-सचिव रामचरित्र मेहता, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतको उपस्थिति थियो ।