काठमाडौं, जेठ १५ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र अन्त्य नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । काठमाडौंमा आज भएको राजावादी प्रदर्शनलाई ‘आन्दोलनको कास्टिङ’ भन्दै उनले संघर्ष अझै तीव्र हुने चेतावनी दिए ।

राजसंस्था र हिन्दूराज्य पुनर्स्थापनाको मागसहित राप्रपाको नेतृत्वमा आज उपत्यकाका विभिन्न सात स्थानबाट जुलुस निकालेर प्रदर्शन गरिएको थियो । पहिलो दिनकै प्रदर्शनलाई जनमत संग्रहको रूपमा उल्लेख गर्दै लिङ्देनले जनताले राजतन्त्रको पक्षमा मत दिएको दाबी गरे ।

‘आज एउटा जनमत संग्रह सम्पन्न भएको छ । जनता राजतन्त्रको पक्षमा छन्, यो प्रमाणित भएको छ,’ उनले भने, ‘यो त आन्दोलनको कास्टिङ मात्र हो, गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहन्छ ।’

उनले नेकपा एमालेले आजै गणतन्त्र पक्षमा गरेको प्रदर्शनलाई तुलना गर्दै भने, ‘हामीले कार्यकर्तालाई देशभरबाट आह्वान गर्‍यौं, उहाँहरूले पनि राज्य शक्ति प्रयोग गरेर आह्वान गर्नुभयो । तर प्रदर्शन हेरेपछि मत कतातिर छ, देखियो नि हैन र ?’

लिङ्देनले आन्दोलनलाई कुनै पार्टीको मात्र नभई आम नेपाली जनताको आन्दोलन भएको उल्लेख गर्दै राजधानीवासीसँग सहयोगको अपिल गरे । उनले देशका अन्य भागबाट आएका सहभागीहरू लामो समय राजधानीमै रहने जानकारी पनि दिए ।छोटो सम्बोधन गर्दै लिङ्देनले आगामी दिनमा थप कार्यक्रम घोषणा गरिने बताए।