
रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोक कुमार गौतम सार्वजनिक सम्पत्ति बेचबिखनको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले सोमबार उनलाई काभ्रे भन्ज्याङबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार गत असोजमा रोशी खोलामा आएको बाढीले बगाएको पक्की फलामे पुल र झोलुङ्गे पुल वडाध्यक्ष गौतमले व्यक्तिगत रूपमा कबाडी व्यवसायीलाई बिक्री गरेको आरोप छ। उक्त घटनापछि स्थानीयबासी आक्रोशित भएका थिए। पुल काटेर ट्रकमा लोड गर्ने क्रममा स्थानिय र कबाडी व्यापारीबीच विवाद भएपछि प्रहरीलाई खबर गरिएको थियो।
कटुन्जे प्रहरी चौकीका सई मनु सापकोटाको टोलीले जेठ १२ गते राति रोशी–७ थानसिङ्गबेशीबाट पुल लोड गरिएका बा ५ ख ४६२६ र बा २ ख ४००१ नम्बरका दुई ट्रक नियन्त्रणमा लिएको थियो। साथसाथै कबाडी व्यवसायी मुन्दुकुमार र जितेन्द्र पासवानसहित टिपर चालक मानबहादुर तामाङ र रमेश लामालाई समेत प्रहरीले पक्राउ गरेको छ।
सरकारी सम्पत्ति मनोमानी ढंगले बिक्री गरेको आरोपमा उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।