काठमाडौं, जेठ २२ :

स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनका लागि तयारी थालिएको छ । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको संख्या ५७ छ । नयाँ आर्थिक वर्षमा समेत थप यस्ता अस्पताल निर्माणको योजना छ ।

मापदण्डसमेत अभाव देखिएकाले पाँच, १० तथा १५ शय्या क्षमताका स्थानीय तहमा निर्मित अस्पतालहरु सञ्चालनका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सक्रियता देखाएका थिए । हालै मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ निर्माण गरिसकेको छ ।

अब मापदण्डका आधारमा त्यस्ता अस्पताललाई संघ सरकारले गर्ने जनशक्ति, औजार उपकरण, औषधी तथा रिएजेन्टसलगायत अत्यावश्यक संशाधनको व्यवस्थापन गर्न मन्त्री पौडेलले कार्ययोजना तयारी अघि बढाएका छन् ।

यसका लागि मन्त्री पौडेलले मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका छन् ।

कार्यदलले संघ सरकारले गर्ने सहयोगबारे कार्ययोजना बनाउनुका साथै ती अस्पतालमा प्रदेश तथा स्थानीय तहको भूमिकाबारे समेत प्रस्टता ल्याउन सघाउनेछ ।

मन्त्रालयले यस्ता अस्पतालको निर्माण तथा सञ्चालनका लागि आगामी वर्षका लागि करिब एक अर्ब बजेट व्यवस्थापन गरेकाले अब आधारभूत अस्पतालहरु सञ्चालनमा सहजता आउने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जनाए ।