
नेपाली महिलाहरू यतिबेला हरितालिका तीज पर्वको माहोलमा रमाइरहेका छन् । महिलाहरूले उत्सवका रुपमा मनाउने तीज पर्व भाद्र शुक्ल द्वितियदेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ ।
तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान र मनोरञ्जन समेत गरिन्छ । तर पछिल्लो समय यो पर्व मनाउने तौर तरिका अझ फराकिलो बन्दै गएको छ ।
पहिला तिजको अघिल्लो दिन एक दिन मात्रै दर खाएर पञ्चमी नुहाएर सम्पन्न हुने पर्व आजभोली दर खाने, रमाउने र मनाउने शैलीमा आधुनिकता थपिदै गएको छ ।
यस वर्षको तीज भदौ २१ गते आज परेको छ । जस अनुसार आज बिहीबार दर खाने दिन भएपनि महिलाहरू एक महिना अघिदेखि आफ्ना आफन्त र साथी संगिहरुसँग भेटघाट गर्ने, दर खाने र रमाइलो गरिरहेका छन् ।
यसै विषयमा सक्रिय न्यूज टिमले कलाकार, व्यवसाय क्षेत्र तथा सञ्चारकर्मी महिलाहरूले कसरी मनाउँदैछन् त यस वर्षको तीज भनेर कुराकानी गरेको छ ।
रेखा थापा, नायिका
नायिका रेखा थापा आफूलाई सबैभन्दा मन पर्ने पर्व तीज भएकाले खुबै रमाइलोसँग सेलिब्रेट गरेर तीज मनाउदै आएको बताउनुहुन्छ । पर्व मनाउँदा परम्पराकै कुरा आउँछ । हाम्रो देश विविध कला संस्कृति र चाडपर्वले भरिपूर्ण मानिन्छ । अरु दिदीबहिनीहरूले रातो सारी लगाएर खुसियालीका साथ रमाइरहेको देख्दा आफूलाई पनि अझ बढि रमाइलो लाग्ने उहा बताउँनुहुन्छ ।
हैसियत अनुसार खर्च गरेर चाडपर्व मनाउनुपर्छ । यस्ता पर्वमा आफूलाई मनपर्ने पहिरन लगाउँदा भित्रैदेखि रिफ्रेस समेत भइने उहाँको भनाई छ ।उहाँ भन्नुहुन्छ, “तीज महिलाहरूको मात्र नभई एक अर्कामा सामीप्यता, माया प्रेम दर्साउने, अभिव्यक्त गर्ने चाडका रुपमा लिनुपर्छ । हरेक चाडपर्वमा कसरी खुसी हुन सकिन्छ त्यो स्वतन्त्र रूपले हरेक मानिसले मनाउने अधिकार भएकोले यस्ता पर्व अझै परिवर्तन र रूपान्तरण हुने बहाना बन्न सकोस्।
दीपा गौतम थापा, फेसन डिजाइन
फेसन डिजाइनर दीपा गौतम थापा तीजमा व्यस्त हुनुहुन्छ । उहाँलाई तीजका कार्यक्रममा जान पनि भ्याइनभ्याई पर्ने गर्दछ । बुटिक तथा डायमन्डको व्यवसाय भएकाले अरु बेला भन्दा पर्वहरूमा दोब्बर तेब्बर अर्डर आउने हुँदा राम्रो व्यापार हुने बताउनुहुन्छ । एक व्यवसायी भएको नाताले कोभिड लगायतका कारणले हरेक क्षेत्रमा परेको प्रभावले आफू पनि विगत तीन चार वर्षदेखि त्यसबाट टाढा नरहेको हुँदा त्यति धेरै खर्चिलो नबनाइकन आम नेपालीहरुले जस्तै गरि परम्परा अनुसार तीज मनाइरहेको बताउनुभयो ।
सबै ठाउँमा पुग्न नभ्याएपनि व्यवसायलाई ध्यानमा राख्दै आफ्ना साथी दिदीबहिनीहरूले आयोजना गरेका कतिपय कार्यक्रमहरुमा पुगेर तीज सेलिब्रेट गरिरहेको उहाँ बताउनुहुन्छ ।
बुटिक भन्ने बित्तिकै आम मानिसमा महँगा पहिरन र गरगहना भन्ने सोचाई रहेको भन्दै कम पैसामा पनि राम्रा र आकर्षक पहिरन तयार गर्न सकिने उहाँ बताउनुहुन्छ ।
सक्नेले तीजकै लागि भनेर लाखौंका पहिरनको अर्डर समेत गर्नुहुन्छ तर महंगो नलगाउने पनि हुनुहुन्छ । त्यसैले आफ्नो बजेट अनुसार सामान्य खर्चमा पनि जो सुकैले आफुकहाँ आएर अर्डर गर्न सक्ने उहाँले बताउनुभयो ।
सीता अर्याल, ब्युटिसियन
सौन्दर्य कला व्यवसायी संघ नेपाल ललितपुरको उपाध्यक्ष समेत रहनुभएकी सीता अर्याल विगत २० वर्षदेखि व्यूटिपार्लर व्यवसाय चलाउदै आउनुभएको छ । अन्य व्यवसाय जस्तै उहाँलाई पनि पार्लरमा भ्याइनभ्याइ नै छ ।
व्यूटि तथा सौन्दर्य क्षेत्रमा प्रवेश गरेसँगै तीज चाँडबाड भन्ने कुराहरु अझ बिशेष तरिकाले जान्ने र बुझ्ने मौका पाए । तीज भन्ने बित्तिकै सुन्दरता, मनोरञ्जन रमाइलो तथा सकारात्मक भाव आउने उहाँ बताउनुहुन्छ ।
पहिला लिन नआएसम्म तीजमा माइत जान हुदैन भन्ने थियो तर अहिले माहोल फेरिएको छ । अहिले आफै व्यस्त हुने भएकाले दिदीबैनीहरु, माइती घरपरिवारका लागि एक दिन छुट्याउन नसकिने परिस्थिति आएको छ ।
तर त्यो परिस्थीतिलाई यो तीज पर्वले भेटघाटको सुनौलो मौकाका रुपमा अवसर प्रदान गरेको छ । व्यवसायसँगै समय मिलाएर सबैजनासँग भेटघाट गर्ने, दर खाने र रमाइलो गरि तीज मनाउदै आएको छु ।
पहिलाको समयमा माइती लिन आउनै पर्ने र आएपछि जानै पर्छ भन्ने हुन्थ्यो, जान नपाउँदा खल्लो महसुस हुने चलन रहेको स्मरण गर्दै उहाँले अहिले त्यो परिवर्तित हुदै आएकोमा खुसी व्यक्त गर्नुभयो ।
तीज जस्ता पर्वलाई देखासिखी भन्दा पनि आफ्नो क्षमता अनुसार परिवारसँग रमाइलो गर्दै अनि संस्कृतिलाई निरन्तरता दिनुपर्ने उहाको भनाई छ ।
सकारात्मक सोचका साथ अरूलाई असर नपर्ने गरी तीज मनाऔं, यसैमा हामी सबैको भलो छ ।