
नेकपा (एस) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि पार्टीका नेताहरु आकस्मिक छलफलमा जुटेका छन् ।
पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा शीर्ष नेताहरू बैठकमा जुटेका हुन् । पार्टी अध्यक्षविरुद्ध मुद्दा दर्ता भएपछि एकीकृत समाजवादीले रणनीतिक तहमा छलफल अघि बढाएको छ। तर, हालसम्म पार्टीले घटनाबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
अध्यक्ष नेपाल यतिबेला आफ्नो गृहजिल्ला रौतहटमा छन् । बुधबार रौतहट गएका नेपालले पार्टी कार्यक्रमकै क्रममा भ्रष्टाचार मुद्दा दायर भएको थाहा पाएपछि आजै काठमाडौं फर्किन लागेका हुन्। नेपाल आज अपराह्न ५ बजे सिमरा विमानस्थलबाट बुद्ध एयरमार्फत काठमाडौं आउने कार्यक्रम तय भएको छ ।
नेपाल काठमाडौं फर्किएपछि पार्टी बैठक बसेर आधिकारिक धारणा सार्वजनिक गरिने एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए।