
बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार भएको भीषण आगलागीबाट ८ करोड ७७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार आगलागीले बजारका ३५ वटा पसल पूर्णरूपमा नष्ट भएका छन्।
आगलागीबाट सबैभन्दा ठुलो क्षति योगनाथ न्यौपानेको किराना पसलमा भएको छ, जहाँ करिब १ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ। तोयानाथ न्यौपाने, छत्र थापा र धनबहादुर साउँदका पसलहरूमा पनि गरी करिब १ करोड ५० लाख रुपैयाँको क्षति भएको जनाइएको छ।
शुक्रबार दिउँसो ४ बजे नवदुर्गा होटलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा सुरु भएको आगलागी बेलुका ७ बजेसम्म मात्रै नियन्त्रणमा ल्याउन सकिएको थियो। दमकलको अभावले आगो नियन्त्रणमा ढिलाइ भएको प्रहरीको भनाइ छ।
यसैबीच आगलागी पीडितहरुले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहसँग भेट गरी घटनाबारे जानकारी गराएका थिए।
मुख्यमन्त्री शाहले राहत तथा सहयोग घोषणा गर्ने प्रतिबद्धता जनाए पनि शनिबार दिउँसोसम्म कुनै राहत सामग्री नपुगेको र सरकारले औपचारिक घोषणा समेत नगरेको पीडितको गुनासो छ।