काठमाडौं, जेठ २८ :

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल तथा मातहतका निकायमा सरुवा भए पनि हाजिर नगराइएका कर्मचारीलाई तीन दिनभित्र हाजिर नगराए कारबाही गर्ने चेतावनी दिएको छ ।

सरुवा भए पनि कर्मचारीहरुलाई हाजिर नगराइएको तथा काजमा लामो समय कार्यरत रहेको गुनासोपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यसलाई रोक्न तीन दिनभित्र हाजिर गराउने व्यवस्था गर्न अधिकारीहरुलाई भनेका थिए ।

लगत्तै मन्त्रालयको कर्मचारी प्रशासन शाखाले संघीय अस्पताल तथा मातहतका कार्यालयमा पत्र पठाउँदै तीन दिनभित्र कर्मचारीहरुलाई हाजिर नगराए विभागीय कारबाही तथा सेवा-सुविधाबापतको रकम असुलउपर गर्ने सचिवस्तरीय निर्णयको बेहोरासहितको पत्र पठाएको हो ।

स्वास्थ्य सेवामा आफ्नो दरबन्दीभन्दा बाहिर काजमा बस्ने प्रवृत्ति धेरै रहेको र यसकै कारण सरुवा भएकालाई समेत हाजिर गराउन नसकिएको गुनासो सुनिने गरेको थियो । सोही गुनासो सम्बोधन गर्न मन्त्रालयले कडा चेतावनीसहितको पत्र पठाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अटेर गरेमा विभागीय कारबाही गरिने बताए ।