
वीरगञ्जमा न्यायाधीश खुसीप्रसाद थारूमाथि कालो मोसो दलेको घटनाप्रति न्यायाधीश समाज, नेपालले गम्भीर आपत्ति जनाएको छ।
न्यायाधीश समाजले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘न्याय सम्पादनको सिलसिलामा इजलासमा काम गरिरहेका न्यायाधीशमाथि गरिएको यस्तो कार्य अत्यन्तै निन्दनीय छ। यसले व्यक्तिगत रुपमा मात्र नभई समग्र न्यायपालिकामाथि नै आक्रमण भएको बुझिन्छ। यस्ता आपराधिक कार्य गर्ने जो कसैलाई पनि छुट दिन मिल्दैन।’
संस्थाले घटनाको भर्त्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ।
इँटा भट्टामा मान्छे जिउँदै जलाएर हत्या गरेको आरोप लागेका अफ्ताफ आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको फैसलापछि न्यायाधीश थारूमाथि हिजो केही व्यक्तिले मोसो छयापेका थिए ।
बिहीबार दिउँसो करिब ४ बजे, उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा बसिरहेको बेला केही व्यक्तिले न्यायाधीश थारूमाथि कालो मोसो फालेका थिए।
घटनापछि गर्भु महतो, पदमबहादुर मगर र अविनाश भनिने किशोर कुमार पक्राउ परेका छन् । उनीहरुले जनताको कर खाएर जनताविरुद्ध फैसला गर्न पाइँदैन भन्दै नाराबाजी गर्दै मोसो फालेका थिए।
जेठ १४ गते, न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसलालाई उल्टाउँदै अफ्ताफ आलमलाई सफाइ दिएको थियो। त्यसको विरोधस्वरूप यो घटना भएको बताइएको छ।
