
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा दुरुपयोग, मानव तस्करी र भ्रष्टाचारको विषयमा जनताले भोगिरहेको समस्या समाधान गर्न सत्ता पक्ष, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी लगायतका दलहरूबीच सहमति भएको बताएका छन्।
प्रतिनिधिसभाको शुक्रबार बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले जेठ १३ गतेदेखि निरन्तर उठाइँदै आएको भिजिट भिसा भ्रष्टाचारको विषयमा आफूहरू विश्वस्त हुने गरी व्यवहारमा लागु हुने सहमति भएको स्पष्ट गरे। उनले दलहरूले समस्या समाधानमा प्रतिबद्धता जनाएको बताए।
पाण्डेले कानुनी रूपमा जारी भिजिट भिसाप्रति आफूहरूको आपत्ति नभएको जनाउँदै त्यसको नाममा भइरहेको गैरकानुनी, मानव तस्करी र भ्रष्टाचारजन्य गतिविधि विरुद्ध आवाज उठाइएको बताए।
उनले हाल देखिएका र सम्भावित समस्या समाधानका लागि नीतिगत, कानूनी र संरचनागत सुधार आवश्यक रहेको उल्लेख गर्दै यस्ता विषयमा अध्ययन र छानबिन गर्न विशेष समिति गठनको माग गरे। समितिले दोषीलाई कारबाही गर्न सुझाव दिने र आगामी दिनमा सुधारका लागि मार्गनिर्देशन गर्ने जिम्मेवारी पाउने उनले स्पष्ट गरे।